भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी


प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार

 

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पार्नुभयो । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उहाँले आग्रह गर्नुभयो । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उहाँको भनाइ थियो ।

पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पु¥याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले  खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताउनुभयो । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

“सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको छ”, उहाँले भन्नुभयो । नेपाली मिडियाको विश्वसनियता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो । साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय  उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com