हरितगृह ग्यासबारेका तथ्यांक त्रुटिपूर्ण


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

एउटा बीबीसी अनुसन्धानले तापमान वृद्धिका लागि जिम्मेवार ग्यासले वायुमण्डलमा थपिरहेको उत्सर्जनसम्बन्धी तथ्यांकहरु सम्बन्धित देशहरुले सही ढंगले नराखेको देखाएको छ।

स्वीट्जरलण्डका वायु अनुगमनकर्ताहरुले इटलीको एउटा स्थानबाट ठूलो परिमाणमा ग्यास वायुमण्डलमा मिसिइरहेको फेला पारेका छन्।

तर इटलीले राष्ट्रसंघलाई उपलब्ध गराएको आफ्ना विवरणमा एकदमै न्यून मात्रामा त्यस्तो उत्सर्जन भइरहेको उल्लेख छ।

विज्ञहरुका अनुसार भारत र चीनका उत्सर्जनसम्बन्धी तथ्यांकहरु पनि एकदमै अन्योलपूर्ण छन् र कतिपय अवस्थामा ती दुई देशका अभिलेख वास्तविकताभन्दा शत प्रतिशत बढी वा कम हुनसक्ने जानकारहरु बताउँछन्।

जोखिम

अभिलेखीकरणमा देखिएका यी त्रुटिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्यारिश जलवायु सम्झौताबाट अलग हुने निर्णय गरेकोबाट भन्दा पनि बढी जोखिम थपेको अनुसन्धानकर्ताहरुले बीबीसी रेडियो फोरको एउटा कार्यक्रमलाई बताएका छन्।

जलवायु

सन् २०१५ मा १ सय ९५ वटा देशले हस्ताक्षर गरेको प्यारिश जलवायु सम्झौताको एउटा प्रमुख बुँदामा सबै देशहरु चाहे धनी या गरिबले प्रत्येक दुई वर्षमा हरित गृह उत्सर्जनसम्बन्धी तथ्यांक उपलब्ध गराउनुपर्ने उल्लेख छ।

उक्त नियमका अनुसार प्रत्येक देशहरुले तल्लो तहबाट संकलन गरिएका तथ्यांक जस्तै कति कार गुडे, घर र कार्यलयलाई वातानुकूलित बनाउन कति ऊर्जा खपत भयो लगायतका विवरणलाई आधार मान्दै तथ्यांकहरु तयार गर्नुपर्ने हुन्छ।

तर संयुक्त अधिराज्य र स्वीट्जरलण्ड जस्ता देशले सञ्चालन गरेका वायु मापन कार्यक्रमले कतिपय त्रुटि भएका र कतिपय तथ्यांक नै नराखिएको समेत फेला पारेको छ।

सन् २०११ मा स्वीस वैज्ञानिकहरुले पहिलोपटक उत्तरी इटलीको एउटा स्थानबाट ‘एचएफसी-ट्वेन्टी थ्री’ नामक ग्यास उत्सर्जन भइरहेको भन्दै आफ्ना तथ्यांकहरु सार्वजनिक गरेका थिए।

सन् २००८ देखि २०१० सम्म फ्रिज तथा वातानुकूलित उपकरण निर्माण गर्ने उद्योगहरुबाट संकलन गरिएका नमुनाहरु अध्ययन गरी उनीहरुले त्यहाँबाट उत्पादन हुने ग्यासले वायुमण्डललाई कार्बनडाइओक्साइडभन्दा १४ हजार ८०० गुणा बढी तातो बनाइरहेको जनाए।

अहिले स्वीट्जरलण्डको एउटा वायु अनुगमन केन्द्रले उक्त ग्यास अझै वायुमण्डलमा गइरहेको जनाएको छ।

गलत

स्वीट्जरलण्डको केन्द्रीय प्रयोगशालाका वैज्ञानिक स्टेफन रिम्यान भन्छन्, “हाम्रो मूल्यांकनमा इटलीको उक्त स्थानबाट ६० देखि ८० टन ग्यास उत्सर्जन भइरहेको छ। इटलीको आधिकारिक तथ्यांकमा त्यहाँबाट १० टनभन्दा कम वा दुई वा तीन टन मात्र उत्सर्जन भइरहेको देखिन्छ।”

कतिपय हरित गृह ग्यासहरु कार्बनभन्दा हजारौँ गुणा शक्तिशाली हुने वैज्ञानिकहरु बताउँछन्।

तर इटलीको वातावरण हेर्ने निकायले बीबीसीलाई उसको तथ्यांक सही रहेको र राष्ट्रसंघको नियमको परिधिभित्र रहेर तयार पारिएको जनाएको छ।

इटलीले स्वीस तथ्यांकलाई आफूले स्वीकार नगर्ने बताएको छ।

वातुनुकूलन कायम गर्न प्रयोग हुने तापमान वृद्धिसँग सम्बन्धित अर्को ग्यास कार्बन टेट्राक्लोराइडको प्रयोग युरोपमा सन् २००२ यता प्रतिबन्ध लगाइएको छ।

तर वैज्ञानिक रिम्यान भन्छन्, “अहिले पनि १० हजारदेखि २० हजार टन उक्त ग्यास चीनबाट उत्सर्जन भइरहेको छ, जून हुनु हुँदैन थियो।”

चीनले तापमान वृद्धि गर्ने ग्यासबारे राष्ट्रसंघलाई उपलब्ध गराउने तथ्यांकप्रति निरन्तर पुनर्मूल्यांकन हुने गरेका छन्।

ब्रिटेन जस्ता देशका तथ्यांक सयौँ पृष्ठका हुने भएपनि चीनको पछिल्लो विवरण जम्मा ३० पानाको थियो।

चीन र भारत

सन् २००७ मा चीनले आफ्नो आधिकारिक दस्तावेजमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्नेदेशका रुपमा आफूलाई मान्न अस्वीकार गरेको थियो।

भारत

बीबीसीको अनुसन्धानमा विकासोन्मुख देशले गरिरहेका कार्बन उत्सर्जनसम्बन्धी तथ्यांकहरु पनि अन्योलपूर्ण देखिएका छन्।

कार्बनपछि सबैभन्दा बढी उत्सर्जन हुने हरित गृह ग्यास मिथेन हो र यो कृषि, फोहोर व्यवस्थापन,जीवाशेषबाट प्राप्त हुने ऊर्जा लगायतबाट उत्पादन हुने गर्छ।

भारत जस्ता देश जहाँ विश्वको कुलमध्ये १५ प्रतिशत पशुपालनसम्बन्धी गतिविधि हुने गर्छ त्यहाँ मिथेन ग्यासको उत्पादन उल्लेख्य रुपमा हुने देखिन्छ।

तर राष्ट्रसंघलाई उपलब्ध गराइएको विवरणमा मिथेन ग्याससम्बन्धी भारतको तथ्यांकमा एकदमै फराकिलो अन्तरको अवस्था देखिएको वैज्ञानिकहरुले बताएका छन्।

सन् २०१६ मा कार्यान्वयनमा आएको प्यारिश जलवायु सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिककाल अघिको तापक्रम वृद्धिदरभन्दा २ डिग्री सेन्टिग्रेट कममा सीमित गर्ने लक्ष्य लिएको छ।

तर सही तथ्यांकको अभावमा हालसम्म उत्सर्जन कटौतीमा भएका प्रगतिलाई पर्याप्त ढंगले मूल्यांकन गर्न नसकिने वैज्ञानिकहरु बताउँछन्।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com