पाइलटको दोस्रो इनिङ


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

-सुरज कुँवर
श्रावण २०, २०७४- कोही–कोही भाग्यमानीहरू दोस्रो जुनीको मौका पाउँछन्। गत जेठ १६ गते बाजुराको कोल्टीमा भएको सैनिक हवाई दुर्घटनामा बाँचेकी पाइलट अनिता आले मगर यस्तै दुर्लभ भाग्यमानीमा पर्छिन्। ‘मलाई मेरो जीवन कथा जस्तै लागिरहेको छ,’ ललितपुरको महालक्ष्मीथानस्थित माइतीघरको भुइँतलामा आराम गरिरहेको अवस्थामा हालै भेटिएकी ३२ वर्षीयाले भनिन्।
कोल्टी क्र्यासपछि अनिताको दिमागले नौ वर्षअघिको एउटा संवाद खुबै सम्झेको छ। २०६३ तिर पाइलट तालिम लिन उनी अमेरिकाको टेक्सासमा थिइन्। एक दिन पाइलट कोर्स अध्ययन गरिररहेका नेपाली विद्यार्थीले होस्टलमा पार्टी गरे। १४/१५ जना भुइँमा पलेंटी कसेर खानपिन गर्दै थिए। त्यो रमाइलोबीच एक पाइलट विद्यार्थीले भने, ‘आज हामी यहाँ (अमेरिकामा) रमाइलो गरिरहेका छौं। केही महिनापछि नेपाल फर्केर विभिन्न कम्पनीमा जहाज उडाउने छौं। त्यसको केही वर्षपछि अहिले यहाँ भएका सबैसँग सायद भेट नहुन पनि सक्छ π’
त्यो भोजमा यसरी तीतो भविष्यवाणी गर्नेमा थिए– सचेन्द्र श्रेष्ठ। जो ७ वर्षअघि ओखलढुंगाको श्रीचौर डाँडामा भएको तारा एयरको जहाज दुर्घटनामा बितिसके। उनीमात्रै होइन, अमेरिका बसाइमा सँगै रहेकी अर्की पाइलट साथी सोफिया सिंहको पनि मकवानपुर दुर्घटनामा मृत्यु भयो।
यो घटनाक्रमबीच अनिताको मानसपटलमा सचेन्द्रकै वाणी फनफनी घुमिरहेको छ।
लमजुङ सिमभन्ज्याङ पुख्र्यौली थलो भएकी अनिता यसपटकको दुर्घटनामा बाँच्न सफल भइन्। तर, उनले आफ्नो छेउमै जहाजको कमान्ड सम्हालिरहेका क्याप्टेन महासेनानी कैलाश गुरुङलाई गुमाउनुपर्‍यो। घटनास्थलबाट उद्धार गरिएपछि अस्पतालमा मात्रै ४० दिन बिताएकी अनिताको शरीरमा भित्र र बाहिरी गरी ७ ठाउँमा चोट छन्। टाउको र मेरुदण्डको जोडनिर एवम् बायाँ खुट्टामा शल्यक्रिया गरी पाता राखिएको छ। कलेजोको पनि शल्यक्रिया गरिएको छ। धन्न, टाउको जोगियो।
अनिता घटनाअघिका अधिकांश क्रियाकलाप सम्झिनै सक्दिनन्। ‘मेरो दिमाग ब्ल्याकआउट भएको छ,’ सेनाकी मेजर उनले भनिन्, ‘अस्पतालमा म सिरानी मागिरहेकी थिएँ तर नाम नै आएन। धेरैबेर ऊ त्यो दिनु न भन्दै औंला तेस्र्याउँदै सिरानी मागिरहें,’ उनले घटनापछि धेरै वस्तु र सम्झना फ्याट्टै दिमागमा आउन नसकिरहेको बताइन्। कतिपय कारोबार पनि भुसुक्कै बिर्सिएकोमा अचम्म लागिरहेको छ।

कोल्टी विमानस्थलमा स्काई ट्रक दुर्घटना हुनुअघि अनिताले आफ्नो आइफोनबाट केही हवाई तस्बिर खिचेकी रहिछन्। डिस्चार्जपछि मोबाइल हेर्दा पो त्यो थाहा पाइन्। तर ठ्याक्कै कतिखेर खिचिएको हो भन्ने यकिन अझै छैन। ‘आकाशबाट मात्रै होइन, हाम्रो जहाजको उडान रोस्टरको पनि फोटो उतारेकी रहेछु,’ मोबाइल देखाउँदै अनिताले भनिन्, ‘यी सबै कुरा कतिबेला खिचें, सम्झिनै सकिरहेकी छैन।
दुर्घटना भएको दिन कोल्टीमा डाक्टर नभेटिएको भए, सीता एयरको एउटा जहाज नेपालगन्जका लागि नउडेको भए सायद अनिता आज मन्टेश्वरीमा पढ्दै गरेकी छोरीलगायत आफन्तमाझ हुने थिइनन्। यस मामलामा अनितालाई भाग्यमानी मान्नुपर्छ। किनकि नेपालमा धेरै हवाई दुर्घटनामा बेलैमा उद्धारकर्मी नपुग्दा, रगत नथामिँदा, चिकित्सक वा सामान्य औषधि उपचार नहुँदा थुप्रैले ज्यान गुमाएका छन्। त्यसैले पनि होला, यतिबेला अनितालाई भेट्नेहरू ‘भाग्यमानी रैछौ नानी दोस्रो जुनी पायौ’ भनिरहेका छन्।
२०५७ मा ललितपुर माविबाट एसएलसी सकेपछि दीपेन्द्र प्रहरी स्कुलबाट उच्च शिक्षा सकेकी मेजर अनितालाई सानैदेखि पाइलट हुने रहर पलायो तर सेनाको जागिर भने उनले नसोचेको विषय हो। उनका बुबा केशबहादुर लन्डनमा छन्। जो अवकाश प्राप्त गोर्खा सैनिक हुन्। पाटनमा जन्मेहुर्केकी अनिता सानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने मौका पाइरहन्थिन्। किनकि उनको परिवारका अधिकांश सैनिक भएकाले कोही न कोही आउने/जाने वर्षभर चलिरहन्थ्यो। ‘त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बार्दलीबाट ठूला जेट विमान पार्किङ गरिराखिएको हेर्न पाइन्थ्यो,’ बहिनी सुमिताकी एक्ली दिदी अनिताले पाइलट हुनुको कारणबारे भनिन्, ‘त्यसै बेलादेखि पाइलटहरू देखेर मलाई नि पाइलट हुने रहर जाग्यो।’ एसएलसीपछि प्रहरी स्कुलबाट विज्ञानमा १२ सकेपछि उनी २०६३ सालतिर पाइलट कोर्स अध्ययनका लागि अमेरिका हानिइन्।
१८ महिनामा कोर्स सकेर यता फिरेपछि उनका संघर्षका दिन सुरु भए। जागिरका लागि उनले कम्ता संघर्ष गर्नुपरेन। आधा दर्जन निजी एयरलाइन्स चहार्दा नि कतैबाट कन्फर्म जबको अफर आएन। ०६८ मा सेनाको प्राविधिक लेफ्टिनेन्ट पदका लागि भरेको आवेदनले चाहिँ सैनिक विमान उडाउने ढोका खोलिदियो। अनि दुर्गम भेगमा चार्टर तथा यात्रु ओसार्ने पोलिस विमान एम २८ उडाउने निर्णय गरिन्। गत चैतमा मात्रै मेजर पदको दज्र्यानी पाएकी अनिताले तालिमसमेतलाई जोड्दा आकाशमा करिब ४ सय घण्टा बिताइसकेकी छन्।
दुर्घटनापछि चाहिँ अनितालाई पाइलट जिन्दगीमा लामो ब्रेक लगाउन मन लागेको छ। ‘अबको समय छोरी आभानीलाई समय दिन मन लागेको छ,’ हाल वाकिङफ्रेमको सहाराले सामान्य हिँडडुल गर्ने अनिताले भनिन्। उनले हवाई दुर्घटनाबारे बेलायतमा जन्मेकी सानी छोरीलाई मेसो नै दिएकी छैनन्। ‘मेरो शरीरमा सेतो ब्यान्डेज बाँधेको देखेर के भएको भनेकी थिई। मैले उसलाई रूखबाट लडेको मात्रै भनेर ढाँटेकी छु,’ उनले भनिन्।
तर, छोरीलाई ढिलो–चाँडो सत्य घटनाबारे भन्नैपर्ने हुन्छ। जब सानी छोरी उनको वरिपरि लडिबुडी गर्छिन्, अनितालाई लाग्छ, ‘यो भाग्यमानी रैछे, त्यही भएर आज मलाई बाँचेको अवस्थामा देखी।’
भाग्यको अर्को पक्षबारे कल्पनाशील हुँदै भावुक मुद्रामा उनले भनिन्, ‘यसलाई मायाको कमी त हुने थिएन किनकि मेरी बहिनी, आमा र उसकी फुपी थिए तर… π’ उनले पूरा वाक्य भन्न सकिनन्। केहीबेरमा बिस्तारै भनिन्, ‘हुन त आमाको माया… π’ फेरि अधुरै वाक्यमा उनको बोलीले विश्राम लियो।
घटना भएलगत्तै सोमालियामा रहेका अनिताका श्रीमान् रुद्रबहादुर रामजाली मगर पत्नीको स्याहारका लागि हतार–हतार काठमाडौं ओर्लिए। कोहलपुरमा उपचार हुँदै गरेकी पत्नीलाई काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरे। ४ दिनपछि अनिता होसमा फर्किइन्। अनितालाई डिस्चार्ज गराएर फेरि उनी सोमालिया फर्किसकेका छन्। कैलाली सुख्खड मूल घर भएका रुद्रसँग पनि नेपाली सेनामा १२ वर्ष बिताएको अनुभव छ। हाल उनी सोमालियामा संयुक्त राष्ट्रसंघ मातहत रहेर बम निष्क्रिय पार्ने लगायतको जोखिमयुक्त जागिरमा आबद्ध छन्।
अनिता बैसाखीको सहारामा राम्ररी हिँड्न सक्ने अवस्थाको पर्खाइमा छिन्। दुर्घटनापछि उनले नुहाउन पाएकी छैनन्। उनलाई स्याहार्न लन्डनको हिथ्रु विमानस्थलकी जागिरे आमा यममाया नेपाल आइपुगेकी छन्।
अनितालाई पूर्ण रूपमा निको हुन केही महिना अझै लाग्नेछ। त्यसपछि उनको जो इच्छा।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com