ग्रिनकार्डका लागि बुझाइने मेडिकल रिपोर्टमा सिभिल सर्जनको हस्ताक्षर ६० दिनभित्रको हुनु नपर्ने


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

युएससीआईएसले ग्रिनकार्डका लागि बुझाइने मेडिकल रिपोर्टमा सिभिल सर्जनको हस्ताक्षर ६० दिनभित्रको हुनु नपर्ने नियम घोषणा गरेको छ । यस अगाडि युएससीआईएसले उक्त नियममा अस्थायी छुटकोमात्र घोषणा गरेको थियो ।

सन् २०२१ को डिसेम्बर अगाडि भने अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेको ६० दिन नाघिसकेको भएमा त्यस्तो रिपोर्टलाई मान्यता दिइदैनथ्यो ।

कोरोना महामारीका कारण युएससीआईएसले गर्ने काममा ढिलाई भइरहेको र आवदकले समेत मेडिकल जाँच गर्ने लगायतका विषयमा ढिलाई भइरहेकाले युएससीआईएसले अस्थायी रुपमा ६० दिने नियममा छुट दिने व्यवस्था गरेको थियो ।

यो रिपोर्टले सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षका लागि काम गर्छ । २ बर्षको अवधिभित्र युएससीआईएसले आवेदनबारे निर्णय दिन नसकेर उक्त अवधि नाघेको खण्डमा आवेदकले नयाँ मेडिकल रिपोर्ट बुझाउनुपर्ने प्रावधान रहको छ ।

ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियम पनि लागु भइसकेको छ । युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको छ । आवेदकले मेडिकल परीक्षण अगाडि भ्याक्सिन अनुशार एउटा वा दुईवटा डोज पूरा गरेको हुनुपर्ने र त्यसको कागजात सिभिल सर्जनलाई उपलब्ध गराउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

यो प्रावधान अमेरिकामा ग्रिनकार्ड आवेदन दिने र अमेरिकाबाहिर दूतावास तथा कन्सुलेटहरुमा आप्रवासी भिसाको आवेदन दिने सबैका सन्दर्भमा लागु गरिएको छ । तर भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु गरिएको छ ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्छ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइदैन ।

यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।

यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।

ग्रिनकार्डका लागि मेडिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्छ ।

अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ । सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com