आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : डा कोइराला


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताउनुभएको छ ।

“अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन”, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।”

उहाँले २०४८ सालमा ल्याएको सुधारको शृङ्खलालाई निरन्तरता दिन नसक्दा नै अहिले समस्या उत्पन्तन भएको धारणा राख्नुभयो । उहाँले लोकतान्त्रिक राजनीतिक प्रणालीले विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्ने उल्लेख गर्दै राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यसअनुरुप व्यवहार नभएको बताउनुभयो । उहाँले देशमा अराजकताले मात्रै प्रश्रय पाउँदा राजनीतिक उपलब्धि पनि धरापमा पर्ने उल्लेख गर्नुभयो ।

सरकारको सामु चुनौतीको चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी अघि बढ्न आग्रह गर्नुभयो ।

नागरिकको विश्वास र संसद्को समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको सङ्कट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिने उहाँको धारणा छ । “यसका लागि प्रधानमन्त्रीले इच्छाशक्तिले मात्रै पुग्दैन”, उहाँले भन्नुभयो, “सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।”

समाजवाद भ्रष्टाचारको जगबाट नआउने भन्दै उहाँले समन्यायिक समाज बनाउन विचार, व्यवहार र दृष्टिकोण आवश्यक पर्ने बताउनुभयो । “साझा सङ्कल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सकिन्छ, विश्वबाट लगानीको अवसर नेपाल भित्र््याएर बेरोजगारीलाई सम्बोधन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकारी निकायले उद्योग–व्यवसायमाथि झन्झट थोपर्ने, दोहन गर्ने र हैरान पार्ने काम बन्द गर्नुपर्ने, उद्योग–वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्श लगायतले लगानी र रोजगारी बढाउन ऐन, कानुन र प्रक्रियामा सुधारका लागि दिएका सुझावको निरपेक्ष अध्ययन गरेर आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने उहाँको भनाइ थियो ।

उहाँले जनतामा आशा र भरोसा नजगाइ लोकतन्त्रको संरक्षण गर्न पनि नसकिने बताउँदै सम्भव भएसम्म अब सर्वाङ्गीण आर्थिक सुधारका काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

लोकतान्त्रिक राजनीतिक प्रणालीलाई अक्सिजन दिएर बचाउने, बढाउने र जोगाउने काम आर्थिक विकासवाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता कोइरालाले नेपालका प्रत्येक नागरिकको जीवनमा देखिने गरी आउने दिगो सुधारले मात्र यो सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com