अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ५ महिना


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिलको भिसा बुलेटिन जारी गरेपनि प्राय सबै मिति मार्चको कपीपेष्ट गरेको छ । अर्थात् मार्चका तुलनामा अप्रिलमा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा कुनै पनि टसमस भएको छैन । जसले गर्दा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र पाउने अवधि जनवरीको तुलनामा १ महिना बढेको छ ।

ग्रिनकार्ड पाउने मिति २०२१ को सेप्टेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित  श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ । ग्रिनकार्ड पाउनका लागि २०२१ को सेम्टेम्बरमा जुन मिति कायम थियो अहिले पनि त्यही मिति कायम छ ।

जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने गतबर्षको सेप्टेम्बरको तुलनामा १८ महिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । साथै उनीहरुले ग्रिनकार्ड पाउने मिति पनि करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

अप्रिलको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष ४ महिना पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ७ बर्ष ७ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ५ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष १ महिना पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com