अप्रिलमा रोजगारमा आधारित ग्रिनकार्डमा फाइलिङ चार्ट प्रयोग नगरिने, दोश्रो श्रेणीलाई मर्का


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

अप्रिलमा युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका आवेदन स्वीकार गर्नका लागि विगत धेरै महिनादेखि प्रयोग गर्दै आएको उदार फाइलिङ चार्टको मिति प्रयोग नगरी फाइनल एकसन चार्टमा आधारित मिति प्रयोग गर्ने भएको छ । विगतमा फाइलिङ चार्टको प्रयोग गर्दा रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मिति तुलनात्मक रुपमा छिटो करेन्ट हुने गरेको थियो ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा नेपालीका सन्दर्भमा करेन्ट रहेपनि दोश्रो श्रेणीका लागि भने भिसा करेन्ट रहेको छैन । १ जुलाई २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र अप्रिलमा दोश्रो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् । मार्चमा सन् २०२२ को डिसेम्बर १ भन्दा अगाडि प्राथमिकता मिति भएकाले ग्रिनकार्ड फाइल गर्न सक्ने प्रावधान रहेकोमा अप्रिलका लागि यो मिति झण्डै ५ महिना पछाडि सरेको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको दक्ष कामदार भिसा करेन्ट रहेपनि सोही श्रेणीको दक्षता नभएको अन्य कामदारका सन्दर्भमा भने अप्रिलमा पनि भिसा करेन्ट छैन । मार्चमा यो श्रेणीका लागि १ फेबु्रअरी २०२० भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुका लागि करेन्ट रहेतापनि अप्रिलमा अझ पछाडि सरेर १ जनवरी २०२० मा पुगेको छ ।

तेश्रो श्रेणीको अन्य कामदारमा आवेदन दिने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

रोजगारमा आधारित चौथो श्रेणीको ग्रिनकार्डका लागि पनि मार्चमा भिसा करेन्ट रहेको छैन ।  त्यस्तै निश्चित धार्मिक कामदारका सन्दर्भमा पनि मार्चमा भिसा करेन्ट रहेको छैन ।  रोजगारमा आधारित पहिलो र तेश्रो श्रेणी स्कील्ड वर्कर भने करेन्ट रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com