ठगी र किर्ते मुद्धामा पृथ्वी शाहसहित ६ जना कारागार चलान


प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार

ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।  ठगी काण्डमा मुछिएका पृथ्वी बहादुर शाह र उनका भाइ विजयविक्रमसहित  ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अमेरिकी नागरिकको उजुरीका आधारमा सिआइवीले नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सिआइवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको थियो ।

उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पु-याएर ठगी गरेको पाइएको छ । अभियुक्तहरुले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै  ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ ।

ठगिनेमा धेरै अमेरिकी नागरिक छन् । उनीहरुले अमेरिकाका क्यान्सर, अल्जाइमर जस्ता रोगबाट पीडित वृद्धवृद्धाहरुलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए । अभियुक्तहरुले पीडितको बैंक खातामा पहुँच पु-याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए । ठगीका २० आरोपीमध्ये १३ फरार छन् । उनीहरुका बारेमा खासै जानकारी नभए पनि खोजी भने जारी रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com