ससुराली चीन


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

– चेतनाथ आचार्य

श्रावण १४, २०७४- जीव र याङले बिहे गर्ने टुंगो गरे, तर दुवैको परिवारले स्वीकृति दिएन । जीवलाई आमाले
चिनियाँ केटी बिहे नगर्न भनिन् । उनका बुवाआमा कट्टर बाहुन, कुखुराको मासु पनि नखाने । त्यस्तो
परिवारमा गाईको मासु खाने चिनियाँ युवतीलाई बुहारी स्विकार्न गार्‍है थियो ।

पाल र चीनबीचको सम्बन्ध युगौँ पुरानो छ । दुई देशबीचको सांस्कृतिक सम्बन्धमा मञ्जुश्री, भृकुटी, अरनिकोजस्ता सांस्कृतिक दूतले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने काम गरेका छन् । चीनबाट नेपाल गएका मञ्जुश्रीले चोभारको गल्छी काटेर तालको पानी बाहिर पठाई काठमाडौँ उपत्यकामा बस्ती बसाएको किंवदन्ती छ ।

नेपाली राजकुमारी भृकुटीले तत्कालीन तिब्बती सम्राट स्रोङचङ गम्पोसित विवाह गरेर नेपाली संस्कृति र परम्परालाई चीनमा पु‍र्‍याएकी थिइन् । सात सय वर्षअगाडि नेपाली कालीगढ अरनिको चीनमा तहल्कै पिटेका थिए । चिनियाँ युवतीसँग बिहे गरेर चीनमै घरजम गरेका अरनिको कहिल्यै नेपाल फर्किएनन् ।

एक्काइसौँ शताब्दीमा चीनमा पढ्न आएका थुप्रै नेपालीले चिनियाँ युवतीसँग लगनगाँठो कसेका छन् । समयसँगै चिनियाँ युवती बिहे गर्ने नेपाली युवाको संख्या बढ्दै गएको छ । चिनियाँ युवती बिहे गरेर चीनतिरै बसिरहेका केही प्रतिनिधि जोडीको फरक अनुभव :

जीव गुरागाईं, साथमा परिवार

दुवैतिर दाइजोको आशा

सन् १९८३ मा छात्रवृत्ति पाएर बेइजिङमा पढ्न आएका १९ वर्षे युवा जीव गुरागाईंको चिनियाँ युवतीसँगको लगनगाँठोको सम्बन्ध निकै रोचक छ । बेइजिङमा एक वर्ष पढेर नानचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट स्नातक गरेपछि उनले सन् १९८९ मा विश्वमा ऊर्जा उद्योगका लागि उत्पादित वस्तु तथा सेवा प्रदान गर्न सबैभन्दा ठूलो अन्तर्देशीय कम्पनी हालिबर्टमा जागिर खान थाले । त्यहाँ काम गर्दै गर्दा उनको परिचय सहकर्मी याङ स्याउसँग भयो । याङ र जीव एउटै कम्पनीमा पाँच वर्षसँगै काम गर्दा एक अर्कालाई माया गर्न थालिसकेका थिए ।  याङले अमेरिका गएर कानुन पढ्ने इच्छा राखिन् । अनि दुवै जना बेइजिङबाट अमेरिका उडे । पहिले जीव चीनमा अतिथि थिए भने बेइजिङकै याङ जीवलाई प्रवासी मान्थिन् । अमेरिका पुगेपछि उनीहरू दुवै जना प्रवासी बने । उनीहरूबीचको मायाचाहिँ अझै झाँगिएर मनभित्र बसिसकेको थियो ।

अमेरिकामै जीव र याङले बिहे गर्ने टुंगो गरे, तर दुवैको परिवारले स्वीकृति दिएन । जीवलाई आमाले चिनियाँ केटी बिहे नगर्न भनिन् । उनका बुवाआमा कट्टर बाहुन, कुखुराको मासु पनि नखाने । त्यस्तो परिवारमा गाईको मासु खाने चिनियाँ युवतीलाई बुहारी स्विकार्न गार्‍है थियो । चिनियाँ केटी बिहे गर्ने कुरा सुनेर आमा धेरै दिनसम्म रोएको जीव बताउँछन् । यता याङका बुवाआमाले पनि विदेशीसँग बिहे नगर्न भनेका थिए । अन्तत: जीव र याङको प्रेमको जित भयो । उनीहरूले आफ्ना अभिभावकलाई सहमत गराए ।

बिहे गर्ने टुंगो गरेपछि दुवै जनाका परिवारमा अचम्मको सोचाइ रहेको उनीहरूले थाहा पाए । जीवका बुवाआमा सोच्थे, ‘अब विदेशी बुहारीले अब टन्नै दाइजो ल्याउने भई ।’ यता याङका चिनियाँ बुवाआमाले पनि अब छोरीले विदेशी ज्वाइँबाट प्रशस्तै दाइजो ल्याउने भई ।’ चीनमा नेपालको भन्दा उल्टो प्रचलन छ । बिहे गर्दा बेहुलापट्टिबाट बेहुलीका बुवाआमालाई थुप्रै धनसम्पत्ति दिनुपर्छ । दाइजो आउने भनेर दुवै परिवार मख्ख थिए । दुवैतिरबाट दाइजो शून्य हुने कुराचाहिँ जीव र याङलाई मात्र थाहा थियो । उनीहरूले सन् १९९८ मा दाइजोको आदानप्रदान नगरीकन अमेरिकामा बिहे गरे । अनि उनीहरू सन् २००५ मा अमेरिका छोडेर चीनमा बस्न थाले । सन् २०१३ सम्म चीनमा बसेर उनीहरू फेरि अमेरिका फर्किए । अहिले उनीहरू अमेरिका र चीन आउजाउ गरिरहन्छन् ।

जीवले आफ्नी श्रीमतीलाई नेपाल लगेर परिवारसँग चीनजान पनि गराएका छन् । उनीहरूका दुई छोरा छन् । दुवै चीनमा जन्मिएका हुन् । जीवको मातृभाषा नेपाली हो भने याङको चिनियाँ । तर उनीहरू अंग्रेजी र चिनियाँ दुवै भाषा बोल्छन् । उनीहरूका छोराचाहिँ न नेपाली जान्दछन् न त चिनियाँ नै । उनीहरू अंग्रेजीमा मात्र बात मार्छन् । अहिले जीवको परिवारमा नेपाली र चिनियाँ संस्कृतिसँगै अमेरिकी संस्कृति पनि हुर्किरहेको छ ।

सुवर्ण डंगोल, साथमा परिवार

चीनमै राम्रो छ भविष्य

१८ वर्षअगाडि थिएनचिन मेडिकल युनिभर्सिटीमा एमबीबीएस गर्न आएका काठमाडौँका सुवर्ण डंगोलले चीनमै बिहे गरेर यतै घरजम गरिन्छ भन्ने कहिल्यै सोचेका थिएनन् । बीस वर्ष पुग्दा नपुग्दै उनी आफ्नै खर्चमा डाक्टरी पढ्न आएका थिए उनी । थिएनचिनमा एमबीबीएस पढ्दा पढ्दै उनले स्थानीय होटलमा फिटनेसमा काम पनि गर्न थाले । झन्डै तीस जना नेपालीको समूह एमबीबीएस गरिरहेको थियो । उक्त पढाइ सकेपछि कोही एमडी गर्न सुरु गरे भने कोही नेपाल गएर अस्पतालतिर काम गर्न थाले । सुवर्णचाहिँ बेइजिङ आएर एउटा अमेरिकी फिटनेस कम्पनीमा जागिर खान अन्तर्वार्ता दिन तयार भए । उनीसँग पहिले नै फिटनेसमा काम गरेको दुई वर्षको अनुभव पनि थियो । उक्त कम्पनीले बेइजिङ बाहिर ल्यावोनिङ प्रान्तमा उनलाई जागिरमा पठायो ।

एक्लो व्यक्ति उनी जता जान पनि तयार थिए, सन् २००३ मा । तीन वर्षपछि त्यहाँबाट फर्कंदा भने एक्लै फर्किएनन् । उनले एक जना चिनियाँ युवती स तानफिङ पनि लिएर फर्किए । उनीहरूले सन् २००७ मा बेइजिङमा विवाह गरे । सुवर्णले सन् २००६ देखि २०१२ सम्म बेइजिङमै फिटनेस कम्पनीमा काम गरे । उनकी श्रीमतीचाहिँ रियल इस्टेट कम्पनीमा काम गर्थिन् । सन् २०१२ देखि सुवर्णको परिवारले बेइजिङमा मूर्ति तथा थांकालगायतका नेपाली हस्तकलाका सामग्रीको पसल नेपाल क्र्याफ्ट सञ्चालन गर्दै आएका छन् । उनको पसलमा निकै महँगा नेपाली मूर्ति र थांकाहरू छन् ।

सन् १९८० पछि जन्मिएकी स तानफिङ आमा बुबाकी एक्ली सन्तान हुन् । ल्याबोनिङ प्रान्तको सदरमुकाम सन्याङमा स्थायी घर भए पनि यति बेला उनका बुबाआमा पनि बेइजिङमा सुवर्णसँगै बस्ने गर्छन् । सुवर्ण दम्पतीकी पाँच वर्षकी छोरी शीर्षा छन् । सुवर्णले आफ्नी श्रीमतीलाई अहिलेसम्म ७ पटक नेपाल घुमाएका छन् भने छोरी तीनपटक गएकी छन् । उनकी छोरी नेपाल गएको बेला रमाइलो मान्छिन् । सुवर्ण परिवारका आफन्तका साना नानीहरूसँग खेल्न पाउँदा उनी औधि रमाउँछिन् । ३५ वर्षसम्म चलेको चीनको एक सन्तानको नीतिले गर्दा चीनमा बालबालिकाले आफ्ना काका, ठूलोबुवा, मामा अथवा फुपूको छोराछोरीजस्ता आफन्त बालबच्चा देख्न पाउँदैनन् । बुवाआमा अथवा बाजेबोजुसँग मात्र खेलेर हुर्किएकी सुवर्णकी छोरी नेपाल जाँदा आफ्नै उमेर समूहका आफन्तहरूको माहोलमा रमाउने गर्दछिन् । त्यसो त सुवर्णकी श्रीमतीले स तानफिङलाई पनि आलु कसरी फल्छ, साग कसरी टिपिन्छ, दूध कसरी दुहिन्छजस्ता कुरा पनि थाहा थिएन । सान्याङ र बेइजिङ सहरी क्षेत्रमा हुर्केकी उनले नेपालमा गएर यस्ता कुराहरू प्रत्यक्ष देखिन् । चितवन गएर छोरीले गैँडा छुँदा उनलाई टीभी हेरेजस्तो लागेको थियो रे †

चीनमा रेस्टुरेन्टमा गएर बढी खाना अर्डर गर्ने र फाल्ने प्रचलन भए पनि नेपालमा खाना फाल्ने चलन छैन । सुवर्णकी श्रीमती र सासूले नेपालबाट यो कुरा सिकेका छन् । उनकी सासू र श्रीमतीले नेपाल गएर अनुभव गरेको अर्को कुरा नेपालीहरूको निस्फिक्री हाँसो पनि हो । चिनियाँहरू सधैँ तनाव र दबाबमा हुन्छन् । उनीहरूको हाँसो पनि कृत्रिम हुने गर्छ तर नेपालीहरू युवा पुस्तादेखि वृद्धवृद्धाहरू पनि खुलस्त हाँस्छन् । नेपालीहरूको हाँसो देखेर सुवर्णकी श्रीमती र सासूले धेरै दिनसम्म अचम्म मानेका थिए ।

चिनियाँ वसन्त चाडमा पारिवारिक जमघटका लागि सुवर्ण ससुराली परिवारसँगै बेइजिङबाट ल्याबोनिङ जाने गर्छन् । चिनियाँहरूको संस्कृतिअनुसार भेटघाटमा गएको बेला विभिन्न उपहार र कोसेली अनिवार्य लानुपर्छ । विवाहलगायतका उत्सवमा जाँदा अनिवार्य रूपमा रातो खाममा हालेर पैसा दिनुपर्छ । सुवर्णको सोचाइ भविष्यमा चीनमै बस्ने छ । उनी भन्छन्, ‘नेपाल छोडेको लामो समय भइसक्यो । चिकित्सा क्षेत्रमा फर्कन पनि अब मन छैन । बरु चीनमै राम्रो भविष्य देखेको छु ।’

सम्धी मेलो गरेकै छैन

झट्ट भेट्दा उनलाई कसैले पनि नेपाली भन्दैन । यसै पनि नेपालका राई, लिम्बू, गुरुङ तथा मगरजस्ता जाति र चिनियाँको हुलिया उस्तै देखिन्छ । चिम्सा आँखा, बाटुलो अनुहार त्यसमाथि उनी त चीनमा बसेको दुई दशक भइसक्यो । उनको अनुहारमा चिनियाँको जस्तै पहेँलोपन देखिन थालेको छ । संखुवासभाका डा.विकास राईलाई नेपालीले पनि चिनियाँ भन्ठान्छन् । उनको चिनियाँ उच्चारणचाहिँ बेइजिङको भन्दा अलिक फरक छ । उनको चिनियाँ उच्चारण सुनेर बेइजिङवासीले उनलाई सोध्छन्, ‘तपाईं चीनको दक्षिण भेगबाट आउनुभएको हो ?’

काटीकुटी चिनियाँजस्तै देखिने विकास विकासको जन्म चीनकै हङकङमा भएको हो । लाहुरे परिवारका विकासले हङकङमै कक्षा सातसम्म पढेर नेपाल गए र लिटल एन्जेल्स स्कुलबाट एसएलसी उत्तीर्ण गरे । काठमाडौँ विश्वविद्यालयमा आईएस्सी पढे । उनले त्यति बेला कम्प्युटर साइन्स अथवा सफ्टवेयर पढ्ने विचार गरेका थिए । उनकी फुपूले जनसंख्या विषयमा चीनमा पीएचडी गरेकी थिइन् । उनै फुपूले विकासलाई चीन गएर मेडिकल साइन्स पढ्न उत्प्रेरित गरिन् । विकास सन् १९९७ मा चीनको हनान प्रान्तमा गएर एक वर्ष चिनियाँ भाषा पढे र बेइजिङको नजिकै रहेको थिआनचिन विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन थाले । उनले सन् २००३ मा थिआनचिन विश्वविद्यालयबाट एमबीबीएस सके र तुरुन्तै एमडी गर्न थाले । एमबीबीएस उनले आफ्नै खर्चमा पढेको भए पनि एमडीचाहिँ चीन सरकारको छात्रवृत्तिमा अध्ययन गरे । सन् २००६ मा एमडी गरेर नेपालको वीर अस्पतालमा चार वर्ष काम गरे ।

उनी सन् २०१० मा पीएचडी गर्न थिआनचिन विश्वविद्यालयमा आए । सन् २०१३ मा पीएचडी सकेर उनी बेइजिङको युनाइटेड फेमिली हेल्थ केयर अस्पतालमा काम गर्न थाले । यो अस्पताल १९९७ मा अमेरिकीले प्रसूति अस्पतालका रूपमा स्थापना गरेका थिए । यो अस्पताल पूर्णत: निजी हो र बेइजिङका ख्यातिप्राप्त अस्पतालमध्ये एक हो । चिनियाँ र अमेरिकीहरूको लगानी रहेको यो अस्पतालमा ६० जना विदेशी र २ सयभन्दा बढी चिनियाँ डाक्टरहरू छन् । विकास पेटको क्यान्सरसम्बन्धी शल्यक्रिया विशेषज्ञ हुन् ।

एमबीबीएस गर्दाताका नै विकासको सन् २००० मा एक चिनियाँ युवती चाङ चियानसँग भेट भएको थियो । ती युवती एउटा निजी कम्पनीमा काम गर्दै थिइन् । बिस्तारै उनीहरू बीचको मित्रता घनिष्ठ हुँदै गएर प्रेममा परिणत भयो । विद्यार्थी त्यो पनि आफैँ शुल्क तिरेर पढिरहेका विकासले आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्ने सोचाइ बनाएका थिए । उनीहरूको प्रेम एक दशकसम्म फैलिइरह्यो । सन् २०१० मा पीएचडी गर्न आउँदा मात्र उनले बिहे गरे । विकास र चाङले पहिले चीनको थिआनचिनमा चिनियाँ परम्पराअनुसार र पछि नेपाल गएर फेरि नेपाली परम्पराअनुसार बिहे गरे ।

फरक देशका मान्छेहरू औपचारिक रूपमा विवाह बन्धनमा बाँधिनु निकै जटिल रहेको विकासको अनुभव छ । संस्कृति फरक, भाषा फरक, भूगोल फरक, राजनीतिक प्रणाली फरक अनि सोचाइ र भावना नै फरक । त्यही भएर विकास र उनकी प्रेमिकाले एक अर्कालाई राम्ररी चिन्न र आफ्ना परिवारमा समन्वय गर्न १० वर्ष लगाए ।

बिहे गर्नुअगाडि नै उनले आफ्नी प्रेमिकालाई धेरैपटक नेपाल घुमाएका थिए । उनी वीर अस्पतालमा कार्यरत हुँदा पनि चीनबाट उनकी प्रेमिका नेपाल गइरहन्थिन् । विकासकी आमा हुनुहुन्न । उनका बुवा र उनकी श्रीमतीका बुवाआमाबीचमा अहिलेसम्म भेट भएकै छैन । किनभने उनले आफ्ना सासू–ससुरालाई अहिलेसम्म नेपाल घुमाएकै छैनन् । विकास भन्छन्, ‘अहिलेसम्म सम्धिमेलो गरेकै छैन ।’ सासू–ससुरालाई नेपाल नघुमाए पनि केही दिनको बिदा मनाउन चार वर्षीय छोरी सिरी (चिनियाँ नाम चाङ सी रुई) लाई लिएर विकास र चाङ चियान नेपाल पुगिहाल्छन् ।

देश, भाषा र संस्कृति फरक रहे पनि कतिपय रहनसहन र चालचलन मिल्दोजुल्दो रहेको विकासको अनुभव छ । विकासकी सासूका दाइभाइ र दिदीबहिनीहरू सात जना छन् । अहिले ती सात जनाबाट फैलिएका परिवारका सदस्यहरूको लहरो निकै ठूलो छ । चिनियाँ वसन्त चाडदेखि आफन्तको जन्मोत्सव, विवाहलगायतका शुभकार्यमा सबै जना भेला हुने प्रचलन छ । यो प्रचलन ठ्याक्कै नेपालकै जस्तो रहेको विकास विकास बताउँछन् । तर, ससुराचाहिँ एक्लो सन्तान भएकाले धेरै आफन्त छैनन् ।

विकास विकास आफ्नो विशेषज्ञ ज्ञान नेपाललाई दिन चाहन्छन् । आफूले पढेअनुसारको काम र अवसर पाएमा उनी नेपाल जान चाहेको बताउँछन् । अहिले उनले नेपालमा पाउनेभन्दा कैयौँ गुणा बढी सुविधा चीनमा पाइरहेका छन् । भन्छन्, ‘सबै कुरा पैसा मात्र होइन । आफ्नो माटोका लागि पनि केही गर्ने रहर छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com