Follow @khasokhasmag

घातक हुँदै स्वाइन फ्लु


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

– अतुल मिश्र

श्रावण १४, २०७४-

मुलुकमा इन्फलुएन्जा ए (एच१एन१) भाइरस अर्थात् स्वाइन फ्लु संक्रमितमध्ये केही व्यक्तिमा धेरै छिटो स्वास्थ्यसम्बन्धी जटिलताहरू देखिन थालेपछि चिकित्सकहरूले रुघाखोकीको लक्षण देखिए थप सतर्कता अपनाउन सल्लाह दिएका छन्।

स्वाइन फ्लु संक्रमितमा दुई दिनमै दुवै फोक्सो खराब हुने समस्यासमेत देखिन थालेको औंल्याउँदै त्रिवि शिक्षण अस्पताल, इन्टेन्सिभ केयर युनिट (आईसीयू), क्लिनिकल कोअर्डिनेटर डा. सुवास आचार्य भन्छन्, ‘पहिले स्वाइन फ्लुका केसहरूमा रिकभर (स्वास्थ्यलाभ) भइरहेको थियो, हाल त्यो देखिएन।’

स्वाइन फ्लु संक्रमणमा परेर तीन दिनअघि एक व्यक्ति अचानक नाजुक स्थितिमा पुगेको उल्लेख गर्दै वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी भन्छन्, ‘यस्ता बिरामी तुरुन्त उपचारमा नपुग्दा छाती खराब हुने प्रक्रिया धेरै छिटो सुरु हुन्छ।’

रुघाखोकीको समस्या भएकाहरूमा सास फेर्न असजिलो हुनु चेतावनीको संकेत रहेको औंल्याउँदै डा. चोखानी यो समयमा रुघाखोकी लागे तुरुन्त चिकित्सकीय सहयोग लिनुपर्ने बताउँछन्। उपचारमा ढिलो भए औषधिले प्रभाव पार्न नसकी बिरामीको ज्यान जान सक्छ।

समयमै उपचार हुन सके स्वाइन फ्लु निको हुन्छ। लापरबाही गरे, ढिलो उपचार सुरु गरे यो रोगाट मृत्यु हुने सम्भावना बढी देखिएको छ। सामान्य रुघाखोकीबाट सुरु हुने स्वाइन फ्लुका बिरामीलाई निमोनियासम्म हुन सक्ने डा. चोखानी बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार, शुक्रबार एउटै परिवारका तीन जना प्रयोगशाला प्रमाणित स्वाइन फ्लुको उपचारका लागि त्यहाँ पुगे। यस्तो समस्या लिएर हाल दिनहुँ १५ जनासम्म अस्पताल आउने गरेको उनी सुनाउँछन्। हाल भारतमा स्वाइन फ्लु कडा रूपमा देखिएको औंल्याउँदै डा. पुन हाम्रो मुलुकमा समेत यो संक्रमणबारे थप अध्ययन आवश्यक रहेको बताउँछन्। स्वाइन फ्लु भाइरसको जिनमा सामान्य परिवर्तन आउनाले यो कडा भएको हुन सक्ने उनको आशंका छ।

डा. आचार्यले राजधानीका निजी र सरकारी अस्पतालका आईसीयूमा स्वाइन फ्लु/भाइरल निमोनियाका बिरामीको संख्यामा उल्लेख्य वृद्घि भइरहेको बताउँछन्। यस्ता धेरैजसो बिरामीलाई कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मा राख्नुपरेको उल्लेख गर्दै उनी थप्छन्, ‘शिक्षण अस्पतालको आईसीयूमा भर्ना भएका एक व्यक्तिको स्वाइन फ्लुकै कारण मृत्यु भयो। गत साता पनि एक जनाको भाइरल निमोनियाले गर्दा मृत्यु भएको थियो। स्वाइन फ्लु संक्रमणका कारण भेन्टिलेटरमा राख्नुपरेका दुई जनामा त्यसअघि कुनै रोग थिएन। मृत्यु भएका एक जना तिनैमध्येका हुन्।’
स्वाइन फ्लुले मृत्यु भएका ती व्यक्तिलाई ग्रान्डी इन्टरनेसनल हस्पिटलबाट शिक्षणमा ल्याइएको थियो। हाल राजधानीका प्रतिष्ठित निजी र सरकारी अस्पतालहरूमा स्वाइन फ्लु भएका १२ व्यक्तिलाई भेन्टिलेटरमा राखिएको जनाउँदै डा. किशोर खनाल यस्ता अधिकांश बिरामी पोखरा, बुटवल, स्याङ्जाका रहेको बताउँछन्।

डा. खनालका अनुसार स्वाइन फ्लु कडा रूपमा देखिएकाहरू थोरै समयमा धेरै सिकिस्त हुने प्रकृति देखिएको छ। उनी स्वाइन फ्लुले महामारीको रूपसमेत लिन सक्ने चेतावनी दिन्छन्।
यो वर्ष स्वाइन फ्लु पहिलेभन्दा निकै कडा देखिएको जनाउँदै डा. आचार्यले भन्छन्, ‘एन्टिभाइरल औषधि टेमी फ्लु सुरु गरे पनि १० देखि १५ प्रतिशतसम्म संक्रमितमा सिभियरिटी (तीव्रता) बढेको थियो। उनीहरूलाई एन्टिभाइरल दिए पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखियो।’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार, हाल स्याङ्जाको वालिङमा मौसमी भाइरल इन्फलुएन्जा (रुघाखोकी/एच१एन१) प्रकोपकै रूपमा देखिएको छ। स्वाइन फ्लुलाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेको छ।

तत्काल उपत्यकामा स्वाइन फ्लुको प्रकोप नरहेको भन्दै डा. शर्माले राजधानीसहित जनघनत्त्व भएका अन्य सहरमा यसको प्रकोप फैलिने सम्भावना रहेको स्विकार्छन्।

रुघाखोकीको समस्या देखिँदा सुरक्षा उपाय अपनाउनुपर्ने सुझावसमेत उनी दिन्छन्। स्वाइन फ्लुले संक्रमित एक सय व्यक्तिमध्ये ५ प्रतिशतमा मृत्यु हुने सम्भावना रहेको डा. शर्मा बताउँछन्।
मुटु, दम, मधुमेह र क्षय रोग भएका, श्वासप्रश्वासको रोग भएका, मोटा व्यक्ति, मद्यपान गर्ने, मृगौला फेल भएका, डायलसिसमा रहेका, क्यान्सर भएका स्वाइन फ्लुको बढी जोखिममा हुन्छन्। बूढापाका, पाँच वर्षमुनिका बालबालिका, गर्भवतीहरू, पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएका र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरू पनि यस्तो खतरामा हुन्छन्।

दुई पटक फैलिन्छ स्वाइन फ्लु 
हाम्रो मुलुकमा स्वाइन फ्लु प्राय: वर्षेनी दुईपटक फैलिने गरेको छ। यो संक्रमण तापक्रम एकदम बढी भएर विस्तारै घट्न थाल्दासमेत देखिन्छ। यस्तो अवस्थामा यसको भाइरस बढी सक्रिय हुन्छ। यस्तै जाडो याममा समेत तापक्रम चिसोबाट गर्मीतिर जान लाग्दा भाइरस सक्रिय भएर स्वाइन फ्लु हुने गरेको डा. शर्मा बताउँछन्।

सहज रूपमा एन्टिभाइरल उपलब्ध हुनुपर्छ : डा. चोखानी
वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले एन्टिभाइरल औषधि ‘ओसेल्टामिविर’ सहज रूपमा औषधि पसलहरूमा उपलब्ध नहुँदा उपचारमा समस्या परिरहेको बताएका छन्।
हाल टेमी फ्लु सरकारी स्वास्थ्य निकायबाट पुर्जा हेरेर मात्र दिने गरिएको छ। डा. चोखानीका अनुसार यसले गर्दा तुरुन्त औषधि सुरु गर्नुपर्नेहरूलाई कुर्नुपर्ने बाध्यता छ।
उनी टेमी फ्लुको बिक्री लाइसेन्स प्राप्त औषधि पसलबाट समेत गर्नुपर्ने जनाउँदै यसलाई चिकित्सकीय पुर्जा देखाएपछि किन्न पाउनुपर्ने बताउँछन्।

के हो स्वाइन फ्लु?
स्वाइन फ्लु साससँग सम्बन्धित एउटा संक्रामक भाइरल रोग हो। सन् २००९ मा यो रोग विश्वव्यापी महामारी बन्यो। यो टाइप ए भाइरसका कारणले हुन्छ। यो भाइरस शरीरमा प्रदूषित हावालाई सासका माध्यमले भित्र जाँदा वा कुनै प्रदूषित सतहलाई छोएर आँखा, नाक वा मुखलाई छोएपछि शरीरभित्र प्रवेश गर्छ। स्वाइन फ्लुको लक्षण सामान्य भाइरलसँग मिल्दोजुल्दो भए पनि यसको तीव्रता धेरै बढी हुन्छ। घाँटी बिग्रनु, उच्च ज्वरो, अल्छीपना र शक्तिहीनता अनुभव हुनु यसका सामान्य लक्षण हुन्। यसको उपचार लक्षणका आधारमा गरिन्छ। स्वाइन फ्लुका केही केसमा बिरामीलाई वान्ता हुने र पखाला लाग्नेसमेत देखिएको छ। यसको गम्भीर केसमा निमोनिया र शरीरका अंगहरू फेल पनि हुन्छन्।

कसरी फैलिन्छ ? 
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्य रुघाखोकीको विषाणुजस्तै स्वाइन फ्लुको विषाणु फैलिन्छ। जसरी मौसमी रुघाखोकी हाच्छिउँ वा रोगीले छुँदा, आम्नेसाम्ने कुरा गर्ने व्यक्तिमा फैलिन्छ, त्यसैगरी एच१एन१ समेत फैलिने गरेको छ।
यो रोग पकाएको सुँगुरको मासु खानाले वा सुँगुरनजिक रहनाले हुँदैन। यदि फ्लु विषाणु भएको कुनै वस्तुलाई कुनै व्यक्तिले छोएर आफ्नो नाक वा मुखलाई छोयो भने रोग सर्न सक्छ।
जब कुनै रोगी खोक्छ वा हाच्छिउँ गर्छ, त्यति बेला धेरै ससाना पानीको नदेखिने कण (ड्रप्लेट) वातावरणमा फैलिन्छ। रोग प्रभावित व्यक्तिले कुराकानी गर्दासमेत मुखबाट निस्किने ससाना नदेखिने पानीका कणमा विषाणु हुन सक्छन्।

उपचार 
स्वाइन फ्लु संक्रमण भएकाहरूलाई ओसेल्टामिविर अर्थात् टामी फ्लु र जनामिविर अर्थात् रेलेसा नामक विषाणुरोधी औषधि दिने गरिन्छ। यी दुइटै औषधिले विषाणुको प्रोटिन न्युरामिनिडेजलाई दमन गर्छन्। यी औषधि सबैथरीका इन्फलुएन्जा ए भाइरसविरुद्घ प्रभावकारी प्रमाणित भएका छन्। ईन्फलुएन्जाको विषाणुरोधी औषधि यो रोगको रोकथामका लागि ती व्यक्तिहरूलाई दिन सकिन्छ, जो अहिले रोगी नभए पनि एच१एन१ बाट ग्रस्त व्यक्तिको सम्पर्कमा पुगिसकेका छन्। वा, कुनै यस्ता रोगीको सम्पर्कमा छन्।

मौसमी रुघाखोकी र स्वाइन फ्लु 
उस्ताउस्तै लक्षण हुने भएकोले मौसमी रुघाखोकी र स्वाइन फ्लुबीचको अन्तर छुट्टयाउन गाह्रो हुने गरेको छ। ज्वरो बढी आयो, सास फेर्न असजिलो भयो भने तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ।
‘हामीलाई समेत लक्षणको आधारमा स्वाइन हो कि सामान्य फ्लु भन्ने छुट्टयाउन गाह्रो पर्ने भएकोले कडा रुघाखोकी देखिएकाहरूले तुरुन्त चिकित्सकीय सहयोग लिनुपर्छ,’ डा. चोखानी सुझाउँछन्। प्रयोगशाला परीक्षणपछि स्वाइन भए/नभएको किटान गर्न सकिन्छ।

लक्षण 

  • सामान्य रुघाखोकीमा झैँ नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु
  • तीव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघट्नु,
  • पखाला लाग्नु, वान्ता हुनु
  • घाँटी खसखसाउनु, यस्तो क्रम बढ्दै जानु
  • टाउको फुट्लाजस्तो हुनु, मांसपेसी दुख्नु, अत्यधिक थकाइ लाग्नु

को बढी जोगिने?

  • बूढापाका, पाँच वर्षमुनिका बालबालिका र गर्भवतीहरू
  • मुटु, फोक्सो र मृगौला र दमका रोगीहरू
  • पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएकाहरू
  • मधुमेह भएका, रोगप्रतिरोधक क्षमता कमजोर भएकाहरू

कसरी जोगिने?

  • सार्वजनिक स्थानबाट घर फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ।
  • हात नधोएसम्म मुख, नाक वा आँखा छुनुहुन्न किनभने शरीरमा विषाणु प्रवेश गर्ने बाटा नै यिनै हुन्।
  • खोक्नु वा हाच्छिउँ गर्नुअघि टिस्यु पेपर वा रुमालले मुख छोप्नुपर्छ। त्यसपछि टिस्यु पेपरचाहिँ फयाँक्ने र रुमाललाई तातो पानीमा छोएर सुकाउनुपर्छ। हात पनि राम्ररी धुनुपर्छ।
  • घरको भुइँ विसंक्रमित पार्नुपर्छ।
  • रोगीले काममा जानुहुन्न। सामाजिक मेलमिलाप तथा उत्सवबाट टाढै बस्नुपर्छ, अन्य व्यक्तिलाई तपाईंको रोग नसरोस् भनेर।
  • रोगीसँग घनिष्ठ सम्पर्कमा बस्नुहुन्न।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com