कुण्ठा, आवेग र रिसमा मात्रै जिउने कि अरुको कुरा पनि सुन्ने ?


प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार

केही दिन पहिले एउटा सन्देशमुलक भिडियो हेरेको थिएँ । त्यो भिडियोको सन्देश एउटै थियो संसारभर ५ प्रतिशत मान्छेले मात्रै घाँटी भन्दा माथीको मागलाई प्रयोग गरेर श्रम गर्दछन् । सायद हामी, बहुसंख्यक तपाई र म, ९५ प्रतिशतको संख्यामा पर्दछौं । भिडियोको अन्तमा भनिएको थियो ति ५ प्रतिशत मान्छे पनि हामी जस्तै छन्, उनीहरुका फरक केहीपनि छैन्, एउटै मात्रै फरक छ त्यो हो उनीहरुमा सुन्ने क्षमता छ । जसका कारण संसारभरको जनसंख्यामा उनीहरु ५ प्रतिशत भित्र गनिन्छन् ।

मसँग अहिले भारतिय मुलका दुई जना बिद्यार्थी सहकर्मी छन् । म जहाँ काम गर्दछु त्यहाँको कामको शैली र परिवेश उनीहरुले भन्दा केही थोरै बुझेको छु भन्ने लाग्छ । म उनीहरुलाई काम गर्ने ठाँउको वातावरण, लगानीकर्ताले गर्ने अपेक्षा र काममा हुनुपर्ने अनुशासन, ग्राहकको अपेक्षाका बारेमा बुझाउन कोशिस गर्छु तर उनीहरुले सुने जस्तो मात्रै गर्छ तर ति २५ बर्षका कलिला युवाहरुमा सुन्ने क्षमता पटक्कै छैन् ।

हो आज तपाई हामी धेरैमा यही सुन्ने क्षमताको कमी छ । सबै जानकार छौं । यदी तपाईले बिदेशीहरुको अन्र्तवाता सुन्नु भएको छ भने उनीहरुले कैयन प्रश्नको जवाफमा ‘आइ विस, कुड बि आन्सर दिस कोइस्च्न’ भन्छन् । तर हामी प्रायजसो नेपालीहरुमा नजानको केही पनि हुन्न् । बहसमा यदी हामी बस्यौं भने हामीलाई अर्को भन्दा जान्ने पल्टिनुपर्ने हुन्छ । तर्कका लागि तर्क मात्रै गरिएको हुन्छ । कसैलाई सुन्नु नै छैन् । अझ आजकलको जमानाका युवा पिढीँहरुमा त झनै कम छ ।

अरुका उदाहरण किन भन्नु म आफ्नै अनुभव यहाँहरुलाई शेयर गर्दछु । म उमेरको १८ बर्षदेखी काममा खएिको मान्छे । गाउँको परिवेशमा हुर्किएकाले जुनसुकै पक्षलाई पनि सोझो पाराले बुझ्ने स्वभाव म भित्र थियो । यसको अर्थ आज अर्कै बुझ्छु भनेको होईन् । मात्रै भन्न खोजेको के भने म साधारण हिसावले जीवन चल्छ, सामाजिक, राजनीतिक र आर्थिक उन्नती भनेको कुन चराको नाम हो थाहा थिएन् । त्यो त पारिवारिक होला एक पछि अर्कोले नेतृत्व गर्ने होला भन्ने बुझाई म उच्च शिक्षाका लागि सहर बस्दा सम्मको बुझाई थियो ।

जब उच्च शिक्षाका लागि पोखरा आएँ त्यसपछि मैले पोखराको प्रतिष्ठित रेडियो अन्नपूर्णमा काम गर्ने अवसर पाएँ त्यहाँ संसारलाई बुझेका, जानेका र पेशा व्यवसायमा निखारिएका व्यक्तिहरुको संगत भयो । म काँचो माटो थिएँ, त्यो परिवेशले मलाई परिवेश बुझ्ने र बोल्नु भन्दा अगाडि दुई पल्ट सुन्ने बानीको बिकास गरायो । त्यो रेडियो र त्यो सिकाईनै आजको म हो भन्दा फरक नर्पला । जे सिकेँ, जे जाने, र जे म देखिन्छु त्यसको श्रेय त्यही रेडियोलाई जान्छ । यसको अर्थ म बडो राम्रो भनेको होईन है ।

केही बर्षमै काम गर्ने थलो परिर्वतन हुँदै गयो । म जहाँ जहाँ काम गरेँ, त्यहाँ जान्ने भन्दा पनि जाने जस्तो गर्ने दिज्जगहरुको भिड बढी देखियो । कसैले कसैको सुन्नै चाहन्थ्यो । सब जान्ने । म त गाँउबाट आएको मान्छे सहरमा जम्नु थियो, अनि सहरमा आफ्नो नाम बिकाउनु थियो । यसर्थ म जहाँ जहाँ गएँ त्यहाँ त्यहाँ ति म भन्दा जान्नेहरुको सुन्दै गएँ । तपाईले भनेकै ठिक भन्ने बानीको बिकास गरेर अनुभव बटुल्दै गएँ ।

बिभिन्न सामाजिक संघ संस्थामा पनि काम गर्दै गएँ । त्यहाँ त झन सब जान्ने । नजानेको मान्छे भेट्नै गाह्रो । सबै बुझेका । मेरा एक मित्रको एउटा भनाई मलाई बारम्बार याद आउँछ । उनी भन्छन्, यो संसारमा सब मान्छे स्मार्ट छु भन्छ यसर्थ सुन्न सक्नु पर्दछ, तब मात्रै जानिन्छ । मेरा मित्रको यो भनाई मलाई बडो गज्जब लाग्छ । हो आजकल सब मान्छे जान्ने छन् । उनीहरु सुन्न चाहन्नन् ।

यदी म जान्ने सुन्ने पल्टिएको भए सायद म पहिल्यै लडि सक्थेँ या मलाई लडाउँथे भन्ने मेरो बुझाई हो । आजका दिनमा पनि म जहाँ छु त्यहाँ सुन्छु ज्यादा र बोल्छु कम । अहिले सामाजिक संजाल हेर्नु हुन्छ भने त्यहाँ म सहित एक से एक जान्ने र सुन्ने मात्रै छौं । कसैलाई अरुको कुरा सुन्नुनै छैन्, बुझ्नु नै छैन् । हामीमा यति धेरै बिज्ञता बढ्दै गयो कि अब श्रेष्ठता र बिज्ञता भन्ने फगत हो जस्तो भयो । एउटा कुरा पक्का हो आजकल पहिले पहिले जस्तो ज्ञान सिक्न र बुझ्न पुस्तकालय र बुझरुकहरुको संगत गर्नै पर्दैन्, इन्टरनेटको जमाना भएकाले सबै गुगल गरेपछि पत्ता लाइन्छ तर त्यसलाई व्यवहारमा ल्याउन र आफुले अनुशरण गर्नका लागि सुन्ने धैर्यता त चाहिन्छ होला नि ।

मैले कहिँ कतै पढेको थिएँ संसारमा ९५ प्रतिशत मान्छे भ्रममा बाँचेको हुन्छ । माटो मुन्तिर घर बनाएर हिडिँरहने कमिलोलाई पनि लाग्छ मैले यो पृथ्वीनै धानेको छु । यो कमिलोको सन्दर्भ, सान्र्दभिक लाग्छ संसारमा हामीसँग ज्ञान भन्दा बढ्ता भ्रम ज्यादा छ । अहिलेको प्रमुख समस्या भनेकै मलाई लाग्छ सुन्ने क्षमता शुन्यतिर जाँदैछ । यसलाई पनि मैले उदाहरण सहित भन्छु, हालै उदाएका रबि लामिछानेका बारेमा पछिल्लो क्रममा पाँच वटा फेसबुक स्टाटस लेखेँ । हिजो मात्रै छद्मभेसी नाम गरेको एक जना मान्छेले मेरो वालमा आएर अपशब्दमा केही लेखेछ ।

हिजो आज कामको चटारोले बेलुका छिटै सुत्ने र बिहान छिटो उठ्ने बानी पार्नु परेको छ । यसो त म जब जागे तब सबेरा भन्ने मान्छे हो । त्यो मान्छेले अश्लिल शब्द लेखेका कारण त्यो कमेन्ट मैले बिहान उठने बित्तिकै डिलिट गरि दिएँ ।  त्यस्तै व्यक्तिगत आक्षेप र गाली गलौचमा उत्रेका केहीलाई साथीबाटै हटाई दिएँ ।  मैले सुन्नै र हेर्नै नसक्ने भएर ति कमेन्ट डिलिट गरेको पटक्कै होईन् । सभ्य भाषामा लेखिएका कयन गालीहरु अझैपनि मेरो वालमा गएर पढ्न सक्नु हुन्छ । लेख्न खोजिएको के मात्रै भने जो अपशब्द लेख्ने मान्छे थिए तिनमा मैले धैर्यता नै देखिन, उनीहरुले रबिलाई भगवान माने, जसलाई भगवान मानेको छ त्यसका बारेमा लेखेको कसरी पढ्नु र कसरी सुन्नु ?

अब यति लेखि सकेपछि मलाई तँ कहाँको बिज्ञ होस तेरो कुरा सुनि रहनु पर्ने भन्ने कमेन्ट पनि नआउला भन्न सकिन्न । तर मैले यति धेरै भूमिका बाँधेर भन्न के मात्रै खोजेको हो भने यदी तपाई हामीमा सुन्न सक्ने क्षमता छ भने मात्रै हरेक क्षेत्रमा नेतृत्वमा पुग्न सकिन्छ । भिडियोमा भन्न खोजेको जस्तै ५ प्रतिशत भित्र पर्न सकिन्छ । अन्यथा ९५ प्रतिशत भित्र रहेर कुण्ठा, आबेग र रिसमा जीवन व्यतित गर्नुको विकल्प रहन्न ।

यदी तपाई हामीमा सुन्ने क्षमता छ भने साथी भाईपनि हुन्छन अनि सम्पर्क सम्वन्धहरु पनि बिस्तार हुँदै जान्छन् । यसर्थ सुन्ने बानीको बिकास गरौं । आज भोलीका नयाँ पिढीँले केही सिकुन साथै ज्ञान आदान प्रदान गर्नुपर्छ भन्ने सत मनसायका साथ यति कुरा लेखेँ, गल्ती भएमा माफ पाऊँ । तपाईहरु सबैको जय होस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com