विश्वसम्पदामा डोजर


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– दामोदर न्यौपाने,

श्रावण १२, २०७४- पशुपति क्षेत्र विकास कोषको अनुमतिमा पशुपति क्षेत्रको शिव मन्दिरमा डोजर लगाएर मन्दिर भत्काइएको छ। किरियापुत्री भवनको कोठा थप्ने भन्दै दाता ललितपुर लगनखेलका सुरेन्द्रबहादुर बस्नेतले चार शिवालयसँगैको शिव मन्दिर डोजर लगाएर भत्काइदिएका हुन्।

किरियापुत्री भवनको दक्षिणतिरको चार शिवालय छेउमा बस्नेतले किरियापुत्रीका लागि केही कोठा बनाइदिन गत वर्ष पशुपति क्षेत्र विकास कोषबाट स्वीकृति पाएका थिए। भवन बनाउन कोषका सदस्य सचिव गोविन्द टन्डन र बस्नेतबीच २०७३ साउन २८ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
टन्डन चार वर्षे कार्यकाल बिताएर बिदा भएकै दिन डोजर लगाइएको थियो। कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले मन्दिर जीर्ण भएकाले भत्काएको प्रतिक्रिया दिएका छन्। ‘पशुपति क्षेत्र विकास कोष र ललितपुर–४ लगनखेल निवासी श्री सुरेन्द्रबहादुर बस्नेतबीच भएको सम्झौताअनुसार चार शिवालय क्षेत्रमा किरियापुत्री सेवा सदन विस्तार अन्तर्गत केही कोठा थप्न कार्य प्रारम्भ हुँदा चार शिवालयभित्रको पुरानो जीर्ण मन्दिर भत्काउने निर्णय भएको हुँदा स्थानीय जनप्रतिनिधि एवं स्थानीय जनताको प्रतिनिधि मण्डलसँग छलफल हुँदा उक्त मन्दिर पुनर्निर्माण गर्न कोषको तर्फबाट प्रतिबद्धता गरियो,’ निर्देशक उप्रेतीले जारी गरेको विज्ञप्तिमा छ, ‘सम्बन्धित दाताबाट पुनर्निर्माण कार्य नभएमा आफैंले निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै सर्वसाधारणको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ।’ मन्दिर भत्काउनैपर्ने गरी जीर्ण नभएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन्।

चार शिवालय, अग्निहोत्री र भत्काइएको शिव मन्दिर सँगै छन्। अग्निहोत्रीमा अखण्ड हवन हुन्छ। चौबीसै घण्टा हवन गर्न पण्डितको व्यवस्था गरिएको छ। त्यही अग्निहोत्री शालाको केही जग्गा लिएर किरियापुत्री कोठा बनाउन लागिएको हो। सम्पदा क्षेत्रमा डोजर लगाउने कार्यको स्थानीयवासी, मन्दिरका भण्डारी लगायतले विरोध जनाएका छन्। ‘यो हाम्रो आस्थामा डोजर चलाइएको हो,’ भण्डारी भन्छन्, ‘यहाँका सम्पदा सक्न वर्षाैंदेखि षड्यन्त्र भइरहेका छन्। त्यही षड्यन्त्रको एउटा उदाहरण हो शिवालयमा डोजर प्रहार।’

आस्थाकेन्द्रमा डोजर चलाउनेलाई कारबाही गर्न माग गर्दै पशुपति क्षेत्रभित्र बसोबास गर्ने ९ वटै जाति मिलेर संघर्ष समिति बनाएका छन्। पशुपति क्षेत्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चउर र ९ जात मिलेर बनेको छ। यसलाई ९ गुणा ९  अर्थात् ८१ ग्रहको संयोजन भनिन्छ। नेपालको पहिलो वंश गोपाल वंशको राजधानी यही क्षेत्रलाई मानिएको छ। देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतन समेत भनिन्छ। यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन्। राजोपाध्याय, कर्माचार्य, जोशी, राजभण्डारी, कपाली, वैद्य, डंगोल, खड्गी र देउला जाति मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दै आएका छन्। यी जातिले यहाँ जन्मदेखि मरणसम्मका क्रियाकलाप सञ्चालन गर्दै आएका छन्। ‘पशुपतिमा मुगल सम्राटले ११ औं शताब्दीमा आक्रमण गरेको थियो,’ रघुराज राजभण्डारी भन्छन्, ‘यसलाई पनि हामीले त्यही तहको आक्रमण ठानेका छौं।’

भण्डारीका अनुसार जनप्रतिनिधि, स्थानीयावासी कसैलाई थाहै नदिई मन्दिरमा डोजर लगाइएको थियो। डोजर लगाएर भत्काएपछि त्यहाँ भएको मूर्ति समेत अलपत्र छाडिएको भण्डारीले बताए। ‘पछि भैरवको मूर्ति अलपत्र भएको देखिएको थियो,’ राजभण्डारी भन्छन्, ‘पछि त्यो मूर्ति कहाँ छ, पत्तै छैन।’

सम्पदा नष्ट गर्नेलाई कारबाही नगरेसम्म संघर्ष गरिरहने स्थानीयवासी बताउँछन्। सम्पदा नष्ट गर्नेलाई प्राचीन स्मारक ऐनमा कारबाहीको व्यवस्था छ। २०१३ सालमा बनेको प्राचीन स्मारक ऐनको दफा १२ मा सजाय सम्बन्धी व्यवस्था छ। उक्त दफाको खण्ड क मा कुनै पुरातात्त्विक स्मारकलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा पुरातात्त्विक वस्तुको बिगोबमोजिम रकम असल उपर गरी पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। ‘हदैसम्मको कारबाही होस्, राजभण्डारी भन्छन्, ‘पहिला किरियापुत्री भवन बनाउँदा पनि यस्ता मन्दिर भत्काइए। पशुपति कोषले आफू कमाउनका लागि सम्पदा नष्ट गर्दै आएको छ। यो हामीलाई सह्य हुँदैन।’

कोषले आफैं गरेको सम्झौतामा पनि पुरातात्त्विक सम्पदा नष्ट नगरी कोठा थप्नुपर्ने उल्लेख छ। सम्झौता पत्रको पहिलो नम्बर बुँदामा ‘सनातन हिन्दुधर्म, संस्कृति, परम्परा एवं विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति नाथको महिमा, गरिमा, आस्था र कोषको मापदण्ड एवं पुरातात्त्विक मापदण्डविपरीत नहुने गरी कोषको स्वीकृति र अनुगमनमा कार्य गर्ने’ उल्लेख छ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा यस्ता सम्पदा पाइला पाइलामा भएको भण्डारी बताउँछन्। ‘जहाँ खन्यो, त्यही शिवलिंग भेटिन्छन्,’ भण्डारी भन्छन्, ‘त्यही भएर यहाँ खन्दा पनि होसियार हुनुपर्छ।’ पाशुपत क्षेत्रले देवपाटन, जयवागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वनक्षेत्र गरी २ सय ६४ हेक्टर क्षेत्र ओगटेको छ। यहाँ कुम्भ, अर्धकुम्भ, महाकुम्भ, चारधाम, ८४ तीर्थ, द्वादश ज्योतिर्लिंग (६४ ज्योतिर्लिंग) लगायत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com