अमेरिकामा ८५ हजार कामदारभिसाका लागि लोटरी दर्ता मार्च १ बाट, शुल्क १० डलर, नेपाली योग्य


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च १ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च १ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले जनाएको छ ।

मार्च १७ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले कामदारको विवरण दर्ता गर्न सक्नेछन् । यो भिसाका लागि कामदार आफैले दर्ता गर्न मिल्दैन ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिनेछ । पूर्ण आवेदनको अवस्था हेर्नका लागि यो नम्बर प्रयोग गर्न सकिनेछैन । हरेक व्यक्तिको दर्ताका लागि १० डलर शुल्क तिर्नुपर्नेछ ।

अमेरिकी रोजगारदाता र अमेरिकी एजेण्टले रजिष्ट्रान्ट एकाउन्टमार्फत काममा राख्ने व्यक्तिको विवरण दर्ता गर्न सक्नेछन् ।

कानूनी प्रतिनिधिहरुले पनि आफ्नो एकाउन्टमा कुनैपनि बेला सेवाग्राहीलाई समावेश गर्न सक्नेछन् । एउटै अनलाइन सेसनबाट काममा राख्ने धेरै व्यक्तिको विवरण पेश गर्नुपर्नेछ । तर एउटै व्यक्तिको विवरण एकपटकभन्दा धेरै पेश गरिएमा भने त्यस्तो आवेदन स्वत अयोग्य हुनेछ ।

मार्च १७ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा अनलाइन एकाउन्टमार्फत मार्च ३१ सम्म आवेदन छनौट भए नभएकोबारे जानकारी दिने युएससीआईएसको लक्ष्य रहेको छ । लोटरी प्रणालीबाट आवेदनहरुको प्रारम्भिक छनौट गरिन्छ । अनलाइन दर्ता प्रकृयामा छनौट भएका आवेदनहरुमात्र रोजगारदाताले भिसा प्रकृयाका लागि अगाडि बढाउन सक्नेछन् ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ । आर्थिक बर्ष २०२२ का लागि ३ लाख ८ हजार ६ सय १३ जनाले अनलाइनमार्फत दर्ता गरेका थिए ।

कस्ता योग्यता पूरा गर्नुपर्छ ?

अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

कति नेपालीलाई एच भिसा ?

सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एचवान बी प्राप्त गरेका थिए । जसमा जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ । आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीलाई र २०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो ।

आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा एचवान बी र उनीहरुका आश्रितले पाउने एच फोर भिसा समावेश छ । आर्थिक बर्ष २०२२ को तीनमहिनामा भने २९२ जना नेपालीहरुले एचवानबी र एच फोर भिसा प्राप्त गरेका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

रोजगारदाताका तर्फबाट आवेदन दिनुपर्ने, रकम माग्नेबाट सावधान

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।

खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।

यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।

अमेरिकाको कामदार भिसा एचवान बी काम गर्न चाहने कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com