अमेरिकामा आवश्यक परे सेनामा जान यसकारण गर्नुपर्छ १८-२५ बर्षसम्मका सबै आप्रवासीले दर्ता


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून रहेको छ । सेलेक्टिभ सर्भिस दर्तामार्फत अमेरिकी सरकारले मुलुकमा राष्ट्रिय आपतकालिन अवस्था आएर सशस्त्र शक्तिको तुरुन्तै विस्तार गर्नेपर्ने अवस्था आएको खण्डमा उपयोग गर्नका लागि पुरुषहरुको नाम संकलन गर्छ ।

कोही व्यक्ति १८ बर्ष नपुग्दै अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले १८ बर्ष पुग्नासाथ दर्ता गर्नुपर्छ । तर कोही व्यक्ति २६ बर्ष लागेपछि अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले दर्ता गर्नुपर्दैन । २६ बर्ष नपुग्दै आएको व्यक्तिले दर्ता गराउनुपर्छ । गैरआप्रवासी भिसामा रहेको व्यक्तिले भने दर्ता गराउनु पर्दैन ।

सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रकृयामा कैयन बर्षसम्म ढिलो हुनसक्ने, संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्टहरु पनि लिन नपाउने हुनसक्छ । अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ । सेलेक्टिभ सर्भिसमा दर्ता गराउनु अमेरिकी सेनामा गरेको साइनअप होइन ।

२६ बर्ष नपुगेको आप्रवासीले सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा अमेरिकी नागरिकताका लागि सामान्यतया अयोग्य हुने प्रावधान छ । २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक २६ देखि ३१ बर्षसम्मको छ तर सेलेक्टिभ सर्भिसमा दर्ता गराएको थिएन भने उसलाई युएससीआईएसले दर्ता नगर्नुको कारण पेश गर्ने अवशर दिन्छ । यस्तो अवस्थामा आवेदकले अन्जानमा वा थाहा नपाएर दर्ता नगरेको भएमा त्यस्तो प्रमाण पेश गर्ने मोका दिइन्छ ।

तर २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक ३१ बर्षभन्दा माथिको उमेरको छ भने उसले जानेरै वा थाहा पाएरै पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको भएतापनि अमेरिकी नागरिकताका लागि योग्य हुनेछ । यदि कोही व्यक्ति २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएर पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा उसले नागरिकता आवेदन दिनका लागि ३१ बर्षको उमेर हुँदासम्म कुनुपर्ने हुनसक्छ ।

सेलेक्टिभ सर्भिसमा महिलाले भने दर्ता गराउनु पर्दैन । यदि व्यक्ति १८ बर्षदेखि २६ बर्षको उमेरमा अमेरिकामा थिएन भने पनि उसले दर्ता गराउनु पर्दैन ।

सेलेक्टिभ सर्भिसमा दर्ता गराउनका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com