१० लाख अमेरिकी डलरको ईसा अवार्ड पाउने भएपछि डा. रुईतले भने- ‘यो अवार्ड मेरो कमाइमात्रै होइन,राष्ट्रले पाएको सम्मान पनि हो’


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

नेपालका बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख अमेरिकी डलरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् ।  बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा. रुइतलाई प्रदान गरिन लागिएको हो ।

ईशा अर्वाडको  घोषणा लगतै बुधवार आयोजित पत्रकार सम्मेलनमा आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन् । डा. रुइतले भने, “यो मेरो ३५ वर्षे करिअरकै सबैभन्दा ठूलो कमाइ हो । यतिमात्रै होइन नेपालको प्रतिष्ठालाई उच्च बनाउने अवसर पनि हो । त्यसैले यो राष्ट्रले पाएको सम्मान हो ।”

उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् । उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताए ।
उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताए । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।

डा. रुइतले भने, “राष्ट्रपति पद मेरा लागि बनेको होइन । मेरो आफ्नै एक्सपर्टिज छ । नेत्र उपचार सेवामा मेरो दायित्व अझै धेरै छ ।  मलाई यसमा कुनै रुची छैन ।”
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए ।

इसा अवार्ड मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । विश्वभरका १४५ व्यक्ति तथा संस्थाहरूको प्रतिष्पर्धामा डा. रुइत ६ नम्बरमा ‘स्पेसल नोमिनी’को रूपमा छनोट भएका थिए । डा. रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनजस्ता बलिया संस्था र विभिन्न शक्तिशाली राष्ट्रका व्यक्तित्वहरूसँगको प्रतिस्पर्धामा आफूले इसा अवार्ड पाउनुलाई डा. रुइतले ‘फेयर जज्मेन्ट’को रूपमा लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com