माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।
लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको बताए ।  ‘अहिले उहाँको कलेजोमा समस्या देखिएको छ । जसले गर्दा पित्तको मात्रा बढ्ने गरेको छ’, डा शर्माले भने, ‘अबको थप उपचार कलेजो प्रत्यारोपणमै जानुपर्ने हुन्छ ।’

डा.शर्माका अनुसार पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्ने तयारी छ ।

अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेता  नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार  पुन यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए । हाल नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ ।

पुनको स्वास्थ्य अवस्था स्थिर रहेको डा. शर्माले जानकारी दिए   । पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ ।

कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीको पेटमा आफैं विकसित हुन्छ र करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास भइसक्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिलेजस्तै सहज जीवन जीउन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com