अब न्युयोर्कमा फोनबाटै मिटर पार्किङ


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

अब न्युयोर्कमा गाडी पार्क गर्दा मिटर मेसिन खोज्दै जानु नपर्ने भएको छ । न्युयोर्क सिटीका पाँचवटै बोरोहरु क्वीन्स, बु्रकलिन, म्यानहटन, ब्रोंक्स र स्टेटन आइल्याण्डमा अब फोनमा एप्लिेकशन डाउनलोड गरेर गाडी पार्क गर्न सकिनेछ । पार्क एनवाईसी नामको एप्लिेकशन डाउनलोड गरेपछि त्यसैमार्फत आफूले चाहेको समय तोकिएका स्थानमा गाडी पार्क गर्न सकिने भएको छ ।

यो कार्यक्रम गत डिसेम्बरमा म्यानहटनका केही स्थानमा लागु गरिएपनि अब भने न्युयोर्क सिटी भर नै लागु गरिएको छ । यसरी पार्क गर्दा फोनबाट नै शुल्क तिर्न सकिनेछ भने कागज प्रिन्ट पनि आवश्यक नपर्ने भएको छ । एप्लिेकशनबाट गरिने पार्किङ अनिवार्य भने छैन, मेसिनमा सिक्का राखेर कागज प्रिन्ट गरेर पार्क गर्न चाहनेले अहिले पनि त्यसरी नै गाडी पार्क गर्न सक्नेछन् ।

एप्लिकेशनको व्यवस्था भइसकेपछि व्यक्तिले समय सकिनासाथ घर, साथीभाई, पार्टी वा मिटिङ छाडेर पैसा थप्न मिटर मेसिन खोज्दै जानुपर्ने छैन । एप्लिकेशनको सहयोगले गाडी पार्कको समय थप्न सकिनेछ । अनलाइन सुविधा उपयोग गर्नका लागि सबैभन्दा पहिले पार्क एनवाईसी नामको एप्लिेकेशन डाउनलोड गर्नुपर्नेछ वा parknyc.parkmobile.us/parknyc लग इन गर्नुपर्नेछ ।

त्यसपछि आफ्नो इमेल ठेगाना र फोननम्बर राखेर पासवर्ड सृजना गर्नुपर्नेछ । त्यसपछि लाइसेन्स प्लेट नम्बर राख्नुपर्छ । त्यसपछि कार्डमार्फत वालेटमा रकम लोड गरेर यो सुविधा उपयोग गर्न सकिन्छ । त्यसपछि ड्राइभरले चाहेजति समय गाडी पार्क गर्न सक्नेछन् भने समय थप्नुपरेमा अनलाइनबाट नै थप्न सक्नेछन् । यो एप्लिकेशन अहिलेसम्म एकलाख भन्दा धेरैले डाउनलोड गरिसकेका छन् । जसको सहायताले न्युयोर्कमा ८५ हजार स्थानमा गाडी पार्क गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com