उच्च हिमाली बस्तीका स्थानीय चिसोका कारण गाउँ छोड्न बाध्य


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीयवासी अत्यधिक चिसोका कारण गाउँ छोड्न बाध्य भएका छन् ।

मुगुम कार्मारोङका स्थानीयवासी हरेक हिउँदमा आफ्नो जन्मथलो छोडेर बाहिरिने गर्छन् । कठ्याङ्ग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मङ्सिर, पुस, माघ र फागुन चार महिना उनीहरू गाउँ छाड्न बाध्य हुन्छन् । चिसोमा बेँसीतिर झरेसँगै उक्त हिमाली बस्ती सुनसान बन्छ ।

यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्तिकलगायत बस्तीका स्थानीयवासी बेँसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौँ, सुर्खेत, नेपालगञ्जतिर र कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् ।

गर्मी मौसम सुरु भएसँगै पाटन क्षेत्र, वन जङ्गलमा जडीबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेँसी झरेका स्थानीयवासी गाउँतिर उक्लिन थाल्छन् ।

चिसोले गर्दा यहाँका स्थानीयवासी हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताउनुभयो । चिसो खप्न नसकेर स्थानीयवासी बाहिरिने गरेपछि मङ्सिरदेखि फागुन महिनासम्म सो बस्तीमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

स्थानीयवासी बाहिरिएपछि त्यहाँ कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरीचौकीलाई पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरीचौकी बन्द हुने गर्छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरिने गरेपछि प्रहरीचौकीमा कार्यरत प्रहरी जवानहरूलाई पनि जिल्लातिर डाक्ने गरिएको छ ।

मौसमी बसाइ, भौगोलिक विकटता, गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी चार महिना गाउँ बाहिर र आठ महिना गाउँमै बसेर खेतीपाती जडीबुटी, विकास निर्माणका काम गरेर जीवन निर्वाह गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com