जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको आग्रह


प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको सो कार्य नगर्न अनुरोध गर्नुभएको छ ।

प्रहरीले आफू घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, विद्युतीय उपकरणका स्वीच, मल्टिप्लक काम सकिएपछि बन्द गर्न, चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालको कुनै पनि सामग्री नराख्न अनुरोध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com