अमेरिकामा रहेको नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

अमेरिकामा रहेका नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ । डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासिएर चेक चोरी भएको दूतावासले जनाएको छ ।

दूतावासका कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिंटन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको गाडी स्थानीय समय अनुशार अपरान्ह १२ बजेर ३ मिनेटमा तोडफोड भइ लुटिएको दुतावासले जनाएको छ । तत्काल प्रहरीलाई खबर गरिएको र कुटनीतिक सुरक्षा विभाग ह्युस्टन लगायतका निकायहरुमा उजुरी गरिएको दूतावासको भनाई छ ।

यसबाट सेवाग्राहीहरुमा समय र श्रोतसाधनका हिसाबले पर्न गएको असुविधाप्रति दूतावासले क्षमा मागेको छ । दूतावासले भनेको छ – ‘दूतावासले सेवाग्राहीका नजिक गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकाबासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ ।’

यस सन्दर्भमा कन्सुलर शिविर शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीले सेवा प्राप्त गर्दा पेश गरेको मनी अर्डर वा क्यासियर चेक रद्द गर्न सम्भव भएमा मनी अर्डर वा क्यासियर चेक बनाएको ठाउमा गएर तत्काल रद्द गर्न दूतावासले अनुरोध गरेको छ । रद्द गरेपछि दूतावासको नाममा नयाँ मनी अर्डर र क्यासियर चेक बनाएर आवेदकको नाम, ठेगाना , आवेदन गरेको सेवा र सेवा लिएको सहर खुल्नेगरी दूतावासमा पठाउन अनुरोध गरिएको छ ।

यदि पेश भएको मनी अर्डर वा क्यासियर चेक रद्द गर्न सम्भव नभएमा आफुले पेश गरेको मनी अर्डर वा क्यासियर चेक सम्बन्धी विवरण दुतावासको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ । यसरी पठाउँदा मनी अर्डर वा क्यासियर चेक किन्ने व्यक्तिको नाम, किनेको स्टोर वा स्थानको नाम र ठेगाना, किनेको मिति र समय, रकम तथा मनी अर्डर वा क्यासियर चेक नम्बर उल्लेख गर्न भनिएको छ ।

साथै मनी अर्डर वा क्यासियर चेक रद्द गर्न जाँदा मनी अर्डर वा क्यासियर चेकको रसिद वा अर्धकट्टी तथा आफ्नो परिचयपत्र लिएर जान सुझाव दिइएको छ । यदि मनी अर्डर वा क्यासियर चेक डिपोजिट भएको वा साटिएको पाइएमा सम्बन्धित स्टोर वा बैंकमा बुझी कहाँ कस्ले डिपोजिट वा क्यास गरेको हो, त्यसको विवरण दुतावासको इमेलमा पठाएर सहयोग गरिदिन दुतावासले अनुरोध गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com