अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष २ महिना


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको भिसा बुलेटिन जारी गरेपनि सबै मिति डिसेम्बरकै कपीपेष्ट गरेको छ । अर्थात् डिसेम्बरका तुलनामा जनवरीमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा कुनै पनि टसमस भएको छैन । जसले गर्दा ग्रिनकार्ड फाइल गर्ने र पाउने अवधि डिसेम्बरको तुलनामा १ महिना बढेको छ ।

ग्रिनकार्ड पाउने मिति गतबर्षको सेप्टेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित  श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ । ग्रिनकार्ड पाउनका लागि गतबर्षको सेम्टेम्बरमा जुन मिति कायम थियो अहिले पनि त्यही मिति कायम छ ।

जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने गतबर्षको सेप्टेम्बरको तुलनामा १५ महिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

डिसेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष १ महिना पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ७ बर्ष ४ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष २ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १५ बर्ष १० महिना पुगेको छ ।

रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कम दक्षता हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अन्य कामदारले जनवरीमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने भएका छन् । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ५८५ फाइल गर्न र त्यसका आधारमा वर्क परमिट, एड्भान्स परोल लगायतका डकुमेन्टहरु प्राप्त गर्नसक्ने गरी भिसा बुलेटिनमा व्यवस्था गरिएकोमा यो व्यवस्था नोभेम्बर, डिसेम्बर हुँदै जनवरीमा पनि कायम गरिएको छ ।

सेप्टेम्बरमा मे ८, २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिनसकिने अवस्था रहेकोमा अक्टोबर, नोभेम्बर हुँदै डिसेम्बरमा पनि सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन दिनसकिनेगरी भिसा बुलेटिन जारी भएको थियो । सोही भिसा बुलेटिनलाई स्वीकार्दै युएससीआईएसले पनि डिसेम्बरमा सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएका कम दक्ष तेश्रो श्रेणीका अन्य कामदारले ग्रिनकार्ड आवेदन दिनसक्ने जनाएको छ ।

रोजगारमा आधारित ग्रिनकार्डको अवस्था के छ ?

रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा अमेरिकामा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ । तर अब उनीहरुलाई केही राहत भएको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

अब उनीहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

अमेरिका बाहिर हुने तेश्रो श्रेणीका अन्य कामदारको सन्दर्भमा पनि सेप्टेम्बर ८, २०२२ अगाडि फाइल गरेकाहरुको भिसा प्रकृया नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि १ जुन २०२० अगाडि फाइल गरेकाहरुलेमात्र भिसा पाउनसक्नेछन् ।

डिसेम्बरका लागि रोजगारमा आधारित दोश्रो श्रेणीका लागि भने केही ब्याकलग कायम भएको छ । नोभेम्बरमा भिसा करेन्ट रहेकोमा डिसेम्बर र जनवरीमा १ डिसेम्बर २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अर्थात् जनवरीमा रोजगारमा आधारित दोश्रो श्रेणीका लागि आई १४० का साथमा आई ४८५ फाइल गर्न नपाइने भएको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको ग्रिनकार्डका लागि पनि जनवरीमा भिसा करेन्ट रहेको छैन । सन् २०२२ को जुलाई २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र यो श्रेणीमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । त्यस्तै निश्चित धार्मिक कामदारका सन्दर्भमा पनि जनवरीमा सन् २०२२ को जुलाई २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिन सक्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com