मेरो एसाइलम पेन्डिङ अवस्थामा छ, के मैले अमेरिकाको रियल आईडी पाउनसक्छु ?


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

सक्नुहुन्छ । तर रियल आईडी नियमहरूमा परिभाषित गरिएको अस्थायी कानुनी स्थितिको मापदण्डमा रहेर तपाईले सीमित अवधिका लागि रियल आईडीका लागि योग्य हुनुहुनेछ । त्यसको वैधता भने वर्क परमिटको बैधतामा निर्भर रहनेछ । यदि अधिकृत बसाइको अवधिको कुनै निश्चित अन्त्य छैन भने रियल आईडीको म्याद एक वर्षको हुनेछ । त्यसपछि नविकरण गर्न सकिन्छ ।

रियल आईडीको नियमहरूमा परिभाषित गरिए अनुसार अस्थायी कानूनी स्थितिमा रहेका व्यक्तिहरू भन्नाले एसाइलमको आवेदन पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, ग्रिनकार्ड आवेदन पेन्डिङ रहेकाहरु पर्दछन् । ती सबै अस्थायी प्रकारको रियल आईडीका लागि योग्य हुन्छन् ।

तर स्थायी वा अस्थायी बसोबासका लागि कानुनी रूपमा भर्ना भएका विदेशीहरू, सशर्त स्थायी बासिन्दा स्थिति भएका विदेशीहरू, एसाइलम आवेदन स्वीकृत भएका विदेशीहरू, र शरणार्थीको रूपमा अमेरिकामा प्रवेश गरेका विदेशीहरू भने पूर्ण समयको रियल आईडीका लागि योग्य हुन्छन् ।

मे ३, २०२३ पछि रियल आईडी अनिवार्य

अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय सुविधाहरूमा पहुँच गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि अब ५ महिनामात्र बाँकी रहेको छ । मे ३, २०२३ पछि अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।

यात्रुहरूलाई मे ३ अगाडि नै राज्यद्वारा जारी गरिएको रियल आईडी प्राप्त गर्न प्रोत्साहित गरिने तथा यसले आफ्नो दैनिक जीवनमा बोक्न अभ्यस्त भएको आईडीको साथ अमेरिका भित्र निर्बाध उडान गर्न अनुमति दिने टीएसएका संघीय सुरक्षा निर्देशक बार्ट आर जनसनले बताए ।

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।

कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

कस्ता कागजात आवश्यक पर्छ ?

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

आफूसँग आवश्यक कागजात भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

यदि तपाइँको आईडीमा स्टार छैन भने तपाई आगामी मे २ सम्म उक्त आइडीबाट अमेरिकामा विमान चढ्न सक्नुहुन्छ । तर मे ३ पछि भने तपाइँलाई वैध राहदानी वा अमेरिकी सैन्य आईडी जस्तै अर्को संघीय सरकारी आईडी चाहिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com