नासिँदै चुरेका उर्वर भूमि


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– राजकुमार कार्की

असार २९, २०७४- चुरेमा वन विनाशका कारण कमलाखोंच र मरिण क्षेत्रमा हजारौं बिघा उर्वर जमिन बगरमा परिणत भएको छ । सुकुम्बासीका नाममा बर्सेनि बढ्दै गएको अतिक्रमण तथा काठ चोरीनिकासीका कारण खहरे खोला बढेर समस्या निम्तिएको स्थानीय बताउँछन् ।

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक विस्तारका क्रममा यस वर्ष चुरे क्षेत्रका हजारौं साल कटान भएपछि कृषक थप त्रस्त छन् । कमलाखोंच क्षेत्रका रानीवास, निपाने, हर्षाही, टाँडी, हत्पते तथा मरिण क्षेत्रका कल्पवृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, महादेवस्थानलगायत दर्जनभन्दा बढी स्थानका कृषक प्रभावित छन् ।

‘वन अतिक्रमण र चोरीनिकासीका कारण बर्खामा पाखै बगेर आउने खहरे भेलले उर्वर जमिन बगरमा परिणत भएका छन्,’ निपानेका वासु कोइरालाले भने, ‘बेलैमा नियन्त्रण नगरे बाँकी जमिन पनि नासिन्छ ।’ स्थानीयमा चेतना अभावसँगै तस्करले वन फाँडेर काठ लैजाने गरेको उनले जानकारी दिए । ‘चुरे जंगलको विनाशले नै बर्सेनि नयाँ खहरे जन्मिने गरेका छन्,’ कोइरालाले भने, ‘खहरेका कारण वर्षातको मौसममा चुरे आसपास बसोबास गर्ने बढी पीडित हुँदै आएका छन् ।’ कमलाखोंच क्षेत्रमा मात्रै सानाठूला गरी एक सयभन्दा बढी नयाँ खहरे बनेका छन् ।

चुरे जंगलबाट निस्किने खहरेले दस हजार बिघाभन्दा बढी उर्वर जमिन बगरमा परिणत गराइसकेको स्थानीय कृषक बताउँछन् । दुधौली नगरपालिका हत्पतेका प्राविधिक सहायक हेरम्बराज अधिकारीले भने खहरेले कति जमिन नासियो, त्यसको लगत कसैले नराखेको जानकारी दिए ।

खहरेले आफ्नो दुई बिघा जमिन बगरमा परिणत गराएको सम्झिँदै रानीवास चन्दनपुरका रामप्रसाद दनुवार वन विनाश बढेपछि छिमेकीसमेत सुकुम्बासी बन्दै गएको दुखेसो पोखे । ‘आफ्नो जमिन बगरमा परिणत भई सुकुम्बासी बनेपछि अहिले भाडामा जमिन लिएर खेती गर्दै छु,’ उनले भने । कुनै जमानाका जमिन्दारहरूसमेत अहिले खहरेका कारण सुकुम्बासी बन्दै गएका छन् । कमला नदी र खहरेले जमिन बगरमा परिणत गराएपछि जंगल फँडानी गर्नेको संख्यासमेत वृद्धि भएको छ । रानीवासको चन्दनपुरमा त जंगल फँडानी गरेर बस्ती नै बसालिएको छ । मरिण क्षेत्रको समस्या पनि कमलाखोंच क्षेत्रको भन्दा कम छैन ।

डाडीफाँटदेखि हरिहरपुरगढीसम्म बर्सेनि नयाँ–नयाँ खहरे जन्मिँदै गएका छन् । त्यस क्षेत्रमा पनि चुरे वन विनाश नै खेतीयोग्य जमिन बगरमा परिणत हुने प्रमुख कारण बनेको छ । जंगल अतिक्रमण र विनाशले नै जमिन सकिँदै गएको डाडीगुराँसेका दुर्गाराज देवकोटाले ठोकुवा गरे । ‘जंगल अतिक्रमण भइरहेको छ, चोरी निकासी उत्तिकै छ, अनि विनाश नभएर के हुन्छ त ?’ उनले भने, ‘जनचेतना जगाएर विनाश र अतिक्रमण रोक्ने हो भने अझै पनि धेरै ढिला भएको छैन ।’ वन कार्यालयको एक तथ्यांकअनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल १ लाख १२ हजार ६ सय ३१ हेक्टर छ । यसमध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा छ भने बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ ।

चुरे जंगलको तल्लो फाँटको ३ हजार ३ सय ८३ हेक्टर वन पूर्णरूपमा नष्ट भइसकेको कार्यालयको तथ्यांक छ । प्राकृतिक प्रकोप नियन्त्रणमा लिन स्थानीय बासिन्दा आफंै सचेत हुनुपर्ने जिल्ला वन अधिकृत नवीन गिरी बताउँछन् । ‘कार्यालयले फँडानी गर्ने र वन विनाशमा संलग्नलाई कारबाही गरेकै छ तर उपभोक्तामा अपनत्वको भावना विकास गराउन जरुरी छ,’ उनले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com