१० हजारभन्दा माथिको राहत चेक र क्रेडिट दावी गर्ने आज अन्तिम दिन, यसरी दावी गर्नुहोस् मध्यरात अगाडि


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

20 us dollar bill unsplash

अमेरिकामा १४ सय डलरसम्मको राहत चेक, ३६ सय डलरसम्मको चाइल्ड ट्याक्स क्रेडिट र ६ हजार ७ सय २८ डलरसम्मको अर्नड इन्कम ट्याक्स क्रेडिट पाउन अझै ९० लाख व्यक्ति योग्य रहेको र त्यसका लागि दावी गर्ने आज नोभेम्बर १७ अन्तिम दिन रहेको आईआरएसले जनाएको छ ।

उनीहरुले सन् २०२१ को ट्याक्स रिटर्न फाइल नगरेका कारण आफूले पाउनुपर्ने राहत चेक र क्रेडिटहरु नपाएका हुन् ।

९० लाख भन्दा बढी प्रायः कम आय भएका अमेरिकीहरूले महामारीको बेलामा वितरण गरिएका विभिन्न राहत चेकहरु पूर्णरुपमा वा आंशिक रुपमा अझै दावी नगरेको आईआरएसले जनाएको छ ।

गत वर्ष आम्दानी नभएतापनि धेरैले अझै पनि राहत चेक प्राप्त गर्न योग्य छन् । एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट, रिकभरी रिबेट क्रेडिट र अर्नड इन्कम क्रेडिट सहित राहत चेकहरु लिन उनीहरूले ट्याक्स रिटर्न फाइल गर्न आवश्यक हुनेछ।

मानिसहरूले यी कर क्रेडिटहरूलाई बेवास्ता नगर्न आग्रह गर्दै कतिपयलाई आईआरएसले पत्र समेत पठाएको थियो । अक्टोबर १७ सोमबार एक्स्टेन्सन पाएका व्यक्तिहरूका लागि ट्याक्ट फाइल गर्ने अन्तिम मिति रहेको थियो । तर पनि निशुल्क फाइल कार्यक्रम अन्तरगत ट्याक्स रिटर्नहरू पेश गर्नका लागि सफ्टवेयर  भने नोभेम्बर १७ को मध्यरात सम्म खुला रहने आईआरएसले जनाएको छ ।

अर्थात् उक्त रकम दावी गर्नका लागि न्युयोर्क समय अनुशार नोभेम्बर १७ को मध्यरातसम्म ट्याक्स फाइल गरिसक्नुपर्छ ।

सन् २०२१ मा ७३ हजार वा सोभन्दा कम कमाउने जो कोहीलाई पनि नोभेम्बर १७ को मध्यरातसम्म निशुल्क कर फाइल गर्नसक्ने टुल उपलब्ध छ। यो अंग्रेजी र स्पानिस दुवै भाषामा उपलब्ध छ। आईआरएसले विभिन्न कर क्रेडिटहरूका लागि योग्य देखिने तर दाबी गर्नको लागि ट्याक्स रिटर्न फाइल नगरेका मानिसहरूका लागि विशेष रिमाइन्डर पत्रहरू पठाएको थियो ।

कुल मिलाएर मानिसहरूले एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट, प्रति व्यक्ति १४ सय डलरको राहत चेक, डेकेयरको लागि भुक्तान गरेकाहरुका लागि बच्चा र आश्रित हेरचाह क्रेडिट जोडेर पाँच अंकसम्मको भुक्तानी प्राप्त गर्न सक्छन्।

एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट अन्तर्गत, कम र मध्यम आय भएका आमाबाबुले ६ देखि १७ वर्षका प्रत्येक बालबालिकाको लागि ३ हजार डलर र ६ वर्ष मुनिका प्रत्येक बालबालिकाको लागि ३६ सय डलर सम्म प्राप्त गर्न सक्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com