अमेरिकी दूतावास काठमाडौंका अधिकारीबाट स्थानीय रुपमा राखिएका कर्मचारीमाथि अनुचित व्यवहार


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

अमेरिकी दूतावास काठमाडौंका अधिकारीबाट अहिले पनि स्थानीय रुपमा राखिएका कर्मचारीलाई बेलाबेलामा मनोबल गिराउनेगरी अनुचित व्यवहार हुने गरेको गुनासो स्थानीय कर्मचारीहरुले गरेका छन् । अमेरिकी दूतावास काठमाडौंले ६ सय भन्दा धेरै कर्मचारीहरुलाई स्थानीय रुपमा राखेको छ भने एकसयभन्दा धेरै कर्मचारीहरु अमेरिकाले सिधै राखेकाहरु छन् ।

अमेरिकी सरकारले सिधै राखेका एकसयभन्दा धेरै कर्मचारीहरुमा झण्डै आधा अमेरिकी विदेश मन्त्रालयका लागि काम गर्नेहरु छन् भने झण्डै आधा युएसएआईडी, एमसीसी, रक्षा मन्त्रालय, पिसकोर लगायतका विभागमा काम गर्नेहरु रहेका छन् । खासगरी दूतावासको भिसा सेक्सनमा काम गर्ने अधिकारीहरुले स्थानीय रुपमा राखिएका नेपाली कर्मचारीहरुमाथि मनोबल गिर्नेगरी अनुचित व्यवहार गर्ने गरेको श्रोतले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयको अफिस अफ इन्सपेक्टर जनरलको कार्यालयले गरेको निरिक्षणका क्रममा पनि स्थानीय रुपमा राखिएका नेपाली कर्मचारीहरुमाथि अनुचित व्यवहार गर्ने गरेका घटनाहरु अगाडि आएका थिए । दुईजना अधिकारीहरुले स्थानीय रुपमा राखेका कर्मचारीको मनोबल गिर्नेगरी गरेको अनुचित व्यवहारको विषयमा सम्बोधन गर्न कन्सुलर सेक्सनका म्यानेजरहरु असफल भएको अफिस अफ इन्सपेक्टर जनरलको निरिक्षणमा देखिएको थियो ।

स्थानीय रुपमा राखिएका कर्मचारीहरुले आफूहरुमाथि अनुचित व्यवहार भएकोबारे कन्सुलर सेक्सनका म्यानेजरलाई गुनासो समेत गरेका थिए । तर त्यस्तो गुनासो सम्बोधनका लागि उचित कदम चालिएको थिएन । ती दुईजना भिसा अधिकारीहरुले भिसा आवेदकलाई नराम्रो शब्द, भाषा र लवज प्रयोग गर्नेगरेको तथा असभ्य टिप्पणीहरु समेत अनुवाद गर्नका लागि स्थानीय कर्मचारीहरुमाथि बारम्बार दवाव दिने गरेको गुनासो आउने गरेकोमा अमेरिकी विदेशमन्त्रालयको निरिक्षणका क्रममा समेत भिसा अधिकारीहरुको व्यवहार समस्याका रुपमा देखिएको पाइएको थियो ।

कन्सुलर म्यानेजरहरुले भिसा अधिकारीहरुको यस्तो व्यहारबाट उत्पन्न समस्यालाई सम्बोधन गर्ने प्रयास गरेका थिए भने डेपुटी चिफ अफ मिसनलाई पनि यसबारे पूर्णरुपमा जानकारी दिएका थिए । अफिस अफ इन्सपेक्टर जनरलको कार्यालयले यसबारे प्रश्न गरेपछि अवस्थालाई नियन्त्रणमा लिनका लागि कन्सुलर म्यानेजरहरुले फ्रन्ट अफिस र ह्युमन रिसोर्स अफिससँग मिलेर थप कदम चाल्नका लागि काम गरेका थिए ।

त्यस्तै मे २०१९ मा पूर्व डेपुटी चिफ अफ मिसनको स्वीकृतिबाट कन्सुलर सेक्सनका प्रमुखले स्थानीय रुपमा राखिएका सबै कर्मचारीहरुलाई एकजना स्थानीय रुपमा राखिएका कर्मचारीले भिसाको दुरुपयोग गरेको भन्दै पत्र काटेका थिए । उक्त पत्रमा भिसाको दुरुपयोग भएको उल्लेख गर्दै विश्वासको प्रश्न उठाइएको थियो । यो घटनापछि अब दूतावासका कर्मचारीहरुको भिसा आवेदनका सन्दर्भमा कडाई गरिने पत्रमा उल्लेख थियो ।

यो घटनापछि कन्सुलर सेक्सनका प्रमुखले स्थानीय रुपमा राखिएका कर्मचारीहरुका दम्पत्तिहरुलाई भिसा जारी गर्नमा रोक लगाएका थिए । यसबारे कन्सुलर सेक्सनका प्रमुखले स्थानीय रुपमा राखिएका कर्मचारीहरुका प्रतिनिधिलाई भेटेर छलफल पनि गरेका थिए । तर पनि अफिस अफ इन्सपेक्टर जनरलको निरिक्षणका क्रममा स्थानीय रुपमा राखिएका कर्मचारीले यो विषयका कारण आफूहरुको मनोबल गिरेको गुनासो गरेका थिए । अफिस अफ इन्सपेक्टर जनरलले त्यसपछि फ्रन्ट अफिसलाई यो समस्याको सम्बोधन गर्न निर्देशन दिएको थियो भने फ्रन्ट अफिसले समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com