देशभर अबिरल वर्षाले बाढीपहिरो, कतै सडक अवरुद्ध, कतै डूबान, कैयनको मृत्यु


प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार

देशभर अविरल बर्षाले कतै बाढीपहिरो आएको छ भने कतै सडक अवरुद्ध भएको छ । कैयन स्थानमा डूबान भएको छ । कैयनको मृत्यु भएको छ भने पहिरोले कैयन घर जोखिममा परेका छन् ।

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

प्युठानमा पहिरोमा पुरिएर छ जना बेप्त्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको थापा मगरले बताउनुभयो । “अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उहाँले भन्नुभयो ।

चन्द्रागिरिमा एकै परिवारका तीन जनाको मृत्यु

अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भइ हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् ।

पहिरोमा पुरिएकाहरुको शव निकालिएको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार उपलब्ध गराउने भएको छ ।

वालिङका पाँच घर पहिरोको जोखिममा

अबिरल वर्षासँगै पहिरो खस्दा वालिङका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।

घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन् ।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने÷नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताउनुभयो । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

वर्षाका कारण यसबर्षको दसैं खल्लो

तनहुँमा गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउनुहुन्छ ।

अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उहाँको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउनुहुन्छ ।

कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।

तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउरालीमा शुक्रबार पहिरो जाँदा अवरुद्व भएको श्रृङ्गपथ मार्ग । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने उक्त मार्ग पहिरा जाँदा पूर्ण रुपमा अवरुद्व भएको हो । तस्बिर : सानेबहादुर नेपाली/रासस

दसैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएकोे उहाँको भनाइ छ ।

अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।

उहाँ भन्नुहुन्छ, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो ।

पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन

अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो ।

तनहुँको घिरिङ गाउँपालिका–३ खिलामा बिहीबार दिउँसो खसेको पहिरा हटाइँदै । दुई दिनदेखि परेको वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । तस्बिर : कृष्ण न्यौपाने/ रासस

त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ । दुईतर्फी बनाउन पहिरा पन्छाउने कार्य जारी छ । “निरन्तर पानी परिरहेकाले केही समस्या भएको छ”, उहाँले भन्नुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुल नजिक शुक्रबार बिहान खसेको पहिरो ।

राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ । पहिरो जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै । निरन्तर तीन दिन देखिको बर्षाले भित्र््याउन ठिक्क भएको धानबाली ढालेर नोक्सन गरेको छ । तस्बिर : राजेन्द्प्रसाद पनेरु/रासस

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ । विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा एक सय २५ मिमी, छ घण्टामा ८३ दशमलव आठ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षा मापन भएको छ ।

कार्यालय प्रमुख सञ्जय साहले भन्नुभयो, “आजदेखि वर्षा गराउने प्रणाली केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निक्रिष्य हुन भने अझै समय लाग्न सक्नेछ ।”

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुनसक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझैँ एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ ।

 

तीन दिनको अविरल वर्षाका कारण घोराही–१४ झिगौरामा भत्किएको घर । मानवीय क्षति नभए पनि घर बस्न नमिल्ने गरी भत्किएको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस


वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ– ५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् । दसैँ बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ । अपरेटरलाई खबर गरिएको र उनीहरु बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उहाँको भनाइ थियो ।

अरु बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दसैँको बेला झनै बढी चाप हुने गर्छ । अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चार÷पाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताउनुभयो । मङ्गलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन बुटवलदेखि निसीखोला आउनुभएकी माया घिमिरेले वर्षाका कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताउनुभयो । उहाँले आफ्ना आफन्त झिम्पा, बडाचौँर, थापागाउँलगायत गाउँमा रहेको र वर्षाले सडक बिग्रिँदा टीका थाप्नसमेत जान नसकेको गुनासो गर्नुुभयो ।

“वर्षाले यसपालीको दसैँ राम्रोसँग मनाउन पाइएन, सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन, दसैँ मनाउनकै लागि टाढाबाट आइयो, एउटा गाउँमा मात्रै आफन्त हुनुहुन्न, सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ”, घिमिरेले भन्नुभयो, “अब बुटवल फर्किने समय पनि हुन लाग्यो, बजार झर्ने बाटो सबै बन्द भएछन्, फर्किन ढिला हुने भयो ।”

दसैँ मनाएर पोखरा फर्किनुभएका बडिगाड–१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटोमै अलपत्र परेको बताउनुभयो । उहाँले दसैँको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको थिएँ तर वर्षाले सडक बिग्रिँदा बीच बाटोमै रोकिनुपरेको पीडा सुनाउनुभयो ।

“काम गर्ने ठाउँमा दसैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटा त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ”, नेपालीले भन्नुभयो, “अब कसरी जाने ?, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँमा गएको रैछ पहिरो पनि ।”

दसैँ मान्न निसीखोला आउनुभएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाउनुभएको छैन । तानसेनमा फर्निचरमा काम गर्दै आउनुभएका उहाँले दसैँ मान्नका लागि असोज १७ गते गाउँ आएको बताउनुभयो । दसैँ मानाएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको उहाँको भनाइ थियो ।

“पानी निकै ठूलो प¥यो, दुई÷तीन दिनदेखि परेको पानीले सडक सबै भत्किएका छन्, अलिकति सामान पनि लैजानु पर्ला भन्ने लागेको थियो, बिदा पनि थोरै दिनको लिएर आइयो, पानीले निकै दुःख दियो”, मिलनले भन्नुभयो, “सडक खुलाउन पनि समस्या छ, धेरै ठाउँमा पहिरो झरेको छ, यो पहिरो सफा गर्न पनि कम्तीमा पनि दुई दिन लाग्छ ।”

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भएको बताउनुभयो । उहाँले मुख्य र ग्रामीण सडकको दजनौँ स्थानमा पहिरो जाँदा अवरुद्ध सडक भएकाले आफूहरुले खुलाउनका लागि उपकरण प्रयोग गर्न लगाएको जानकारी गराउनुभयो ।

“दसैँ मनाएर फर्किनेलाई लक्ष्य गरी सडक खुलाउन थालेका छौँ, पानी परिरहेको हुँदा निकै समस्या भएको छ, सडक खुलाउन उपकरण प्रयोग भएका छन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “धेरै ठाउँमा पहिराले सडकमा क्षति पु¥याएको छ, सडक जतिसक्दो छिटो खुलाउने प्रयास गरिरहेका छौँ ।”

वर्षाले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा दर्जन बढी ठाउँमा सडक अवरुद्ध भएको छ । केही ठाउँमा गाडी चालकले पन्छाए पनि ठूलो पहिरो उपकरणको सहायताले सफा गर्नुपर्ने सम्बद्ध चालकको भनाइ थियो ।

पहिराले दसैँका बेला घर छाडेर भागाभाग

बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।

भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।

“पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, “सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।”

भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । “आफ्नो घर छ, तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दसैँ मनाउनुप¥यो, बासविनाको दसैँ खल्लो भयो”, स्थानीय कुलराज शर्माले भन्नुभयो, “छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दसैँ भागाभागमै बित्यो ।” यो बस्तीका खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् ।

उक्त पहिराले उहाँसहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिनुभयो ।

जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ ।

“यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भन्नुभयो, “अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।” बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरुले पनि यो वर्षको दसैँ आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ ।

सर्वसाधारणलाई सास्ती

तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फि सञ्चालनमा ल्याइएको छ ।

आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका कारण जोखिम यथावत् नै छ ।

म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका तीन ठाउँमा गएको पहिराले सर्वसाधारणलाई यात्रामा समस्या भएको दमौली निवासी डा शेषरमण न्यौपानेले जानकारी दिनुभयो । म्याग्दे –१ स्थित गुणादी, व्यास–४ स्थित मादी पुल र व्यास –१२ स्थित घाँसीकुवामा गएको पहिराका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुणादीमा पहिरा पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने घाँसीकुवामा दुईतर्फी नै सडक सञ्चालन भएको छ । मादी पुल नजिक लेदोसहितको खसेको पहिरा पन्छाउने काम भइरहेको छ । निरन्तर वर्षा भइरहेकाले जोखिमको सम्भावना कायमै रहेको छ । पहिरा जान सक्ने सम्भावना भएकाले पहिरा पन्छाउन टोली तयारीमा अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा दसैँको टीका लगाउन जानेहरु मर्कामा परेका छन् ।

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् ।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताउनुभयो । “पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,” उहाँले भन्नुभयो । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ । “मानिसहरु बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौँ”, अध्यक्ष गिरीले भन्नुभयो ।

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुइ सय हेक्टर धान बालीसमेत पूर्ण रुपमा क्षति भएको जनाइएको छ । उहाँका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । विहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उहाँले बताउनुभयो ।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका–२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन् । डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा बाढी र डुबानको जोखिम

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ ।

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि भारी वर्षा भइरहेको जनाएको छ ।

विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव ८ र तीन घण्टामा ६२ दशमलब २ मिमी वर्षाको मापन भएको छ ।

कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो, “आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ ।”

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ ।

पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।

“काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,” उहाँले भन्नुभयो, “गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।”

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक÷दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।

दसँैको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैबीच वर्षापछि आएको पहिराको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेव गाउँपालिका–७ र ८ का ४६, मालारानी गाउँपालिका–६ का ३५, सन्धिखर्क नगरपालिका–६ का १३ र पाणिनि गाउँपालिका–८ का दुईजना विस्थापित भएका हुन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताउनुभयो ।

भेरी नदीमा जलस्तर खतराको तह पार

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ ।

वीरेन्द्रनगरको तल्लो क्षेत्र अलायचौर र घोग्रेनी बीच भागमा रहेको बडिगाड खोलामा आएको भेलले डुबानमा पारेको क्षेत्र । अविरल वर्षाका सुर्खेतको विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ । तस्बिर: सुरेश आचार्य/ रासस

अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् । बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिनुभयो । नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ ।

नारायणीले पुनः खतराको तह पार

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।

भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन् । राप्ती र नारायणी दुवै नदिको तटीय क्षेत्र भरतपुर २७ र २८ नं वडामा बढी जोखिम छ । वडा नं १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा जोखिम रहेको छ । यस्तै वडा नं २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरु पनि जोखिममा छन् ।

वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ चौफेरी गाउँ डुबान । घर भित्रसमेत पानी पसेपछि स्थानीय घरपरिवारलाई प्रहरी र रेडक्रसकर्मीको टोलीले उद्धार गरी सुरक्षित आश्रयस्थलमा लग्दै । तस्वीर : राकेश कुमार मिश्र/रासस

 

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् । पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो ।

उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताउनुभयो । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ । “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उहाँले भन्नुभयो ।

चार दिनदेखिको निरन्तर वर्षाका कारण माथिदेखि झरेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड । यस खण्डको दर्जनौँ स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ । तस्बिर : डम्मर बुढा मगर/रासस

रुकुमदेखि काठमाडौँ हिँड्नुभएका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताउनुभयो । उहाँले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”

पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।

“गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उहाँले भन्नुभयो, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?”

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।

“निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भन्नुभयो ।

निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।

“हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”

विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा

निरन्तर वर्षाको कारण बागलुङको काठेखोलामा एक विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा परेका छन् । काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित जनप्रिय आधारभूत विद्यालयको सातकोठे भवन र स्थानीय शमशेर मल्ल, गणेशबहादुर थापा, डिलकुमारी हमाल र लक्षु हमालको घर पहिराको उच्च जोखिममा परेको स्थानीय गङ्गा थापा ‘भिक्षु’ले जानकारी दिनुभयो ।

पहिराले घर बगाउन थालेपछि चार परिवारलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । डिलकुमारी हमाल र लक्षु हमालको घर विद्यालय भवनसँगै जोखिममा रहेको थापाले बताउनुभयो । भवनको अगाडिदेखि ठूलो पहिरो जाँदा विद्यालय जोखिममा परेको प्रधानाध्यापक नरबहादुर थापाले बताउनुभयो । उहाँले विद्यालय अगाडि मोटरबाटो रहेको र समय–समयमा डोजरले सडक खन्दा त्यसको थर्कोले पहिरो गएको बताउनुभयो ।

“स्कूल अगाडि मोटरबाटो छ, बेला–बेलामा मोटरबाटोमा डोजर चलाउँछन्, डोजरको थर्कोले यति ठूलो पहिरो गयो, पहिराले सातकोठे भवन बगाउने जोखिम बढेको छ, विद्यालयको तलपट्टि सडक निर्माण नगरेको भए अहिले यस्तो जोखिम हुने थिएन”, उहाँले भन्नुभयो । आठसम्म पढाइ हुने विद्यालयमा ८२ विद्यार्थी अध्ययनरत छन् ।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो ।

संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो । उक्त समस्या समाधान हुने बित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो ।

इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो । पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उहाँले बताउनुभयो ।

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो ।

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए ।

वीरेन्द्रनगरको डुबान क्षेत्रमा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गर्नुभएको थियो । वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोगे्रनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्सेनीमा दुई वटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

भारी वर्षाले रत्न राजमार्ग, छिञ्चु–जाजरकोट सडक खण्ड, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले लगातारको वर्षाले अधिकांश सडक खण्ड अवरुद्ध हुन पुगेको बताउनुभयो । सडक अवरुद्ध हुँदा बिहानैदेखि यात्रुबीच बाटोमा रोकिएका छन् । सडक डिभिजन कार्यालयले कतिपय सडक खण्डमा खसेको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ । यसैबीच, रत्न राजमार्गअन्तर्गत सुर्खेतको ब्युरेनीमा सडक माथिबाट पहिरो खस्दा गुडिरहेको एक स्कुटी पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट भेरीपुलतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटी पहिरोले पुरिएको र स्कुटीमा सवार दुई जना घाइते भएको जनाएको छ । स्कुटी चालक वीरेन्द्रनगर–४ का २९ वर्षीय कमल पन्त र उहाँसँगै सवार सुरेश नेपाली घाइते हुनुभएको छ । घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा पुरिएको स्कुटीलाई डोजर प्रयोग गरी निकालिएको छ ।

राससबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com