राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने, मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध
प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका लगाइदिने भएकी छन् ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
फाइल फोटो






