स्वर्गीय सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए


प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार

– वासुदेव पौडेल

पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले  उच्च शिक्षा पढ्न स्वीजरल्याण्ड जाने सपना थाँती राखेर मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहासको पात्र बनाए ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयाससँगै अहिले भने मर्दी हिमाल पदयात्रा विश्वमाझ नै आशालाग्दो गन्तव्य बनिसकेको छ । सानो उमेरमा नै मर्दी हिमाललाई विश्वमाझ परिचित गराएका गौतमको शुक्रबार साँझ मर्दी हिमालमा खानेपानीको मर्मतका क्रममा ३५ वर्षको कलिलै उमेरमा निधन भएको छ ।

तत्कालीन समयमा उपहासको पात्र बने पनि त्यसको पर्वाह नगरी निरन्तर यस क्षेत्रको प्रवद्र्धनमा लागेका गौतमकै पदचाप पछ्याउँदै पछिल्लो समयमा मर्दीमा ठूलो सङ्ख्यामा सुविधा सम्पन्न होटेल बनिसकेका छन् । पोखराबाट नजिकैको पदयात्रा मार्गका रूपमा मर्दीले आफ्नो पहिचान स्थापित गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रा मार्गमा डेढदशक अघिसम्म केवल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पूर्वाधारले अन्त्य गरिदिएका छन् ।

आफ्नो जीवनकालमा अहोरात्र मर्दीकै प्रवद्र्धन र विकासमा लागेका गौतमको मर्दी हाइक्याम्पमा नै पानीको लाइनमर्मत गर्ने क्रममा चिप्लिएर लड्दा निधन भएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो ।

मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका गौतमको पर्वतीय पर्यटनमा विशिष्ट योगदान रहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । “गौतम नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सचिवको जिम्मेवारीमा समेत रहनुभएको थियो”, उहाँले भन्नुभयो, “पर्वतीय पर्यटनमा मर्दी हिमाल मात्र नभएर अन्यस्थलको प्रवद्र्धन र विकास गर्नुपर्छ भन्ने उहाँको सोच थियो ।” माछापुच्छ्रेकै तीन शिरको प्रवद्र्धनका लागि केही महिनाअघि भएको कार्यक्रममा पनि स्व गौतमको नेतृत्वदायी भूमिका रहेको उहाँले स्मरण गर्नुभयो ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गतको काँडे हुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फरेस्ट क्याम्पमा बिताउँछन् । फरेष्ट क्याम्प दुई हजार छ सय मिटरको उचाइमा छ । त्यहाँ रात बिताएका पर्यटक भोलिपल्ट लगभग छ÷सात घण्टाको पदयात्रापछि तीन हजार पाँच सय ५० मिटर उचाइको मर्दी हाइक्याम्प पुग्दछन् । हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्री चार हजार दुई मिटरको भ्यू प्वाइन्ट पुग्छन् र त्यहाँबाट मर्दी हिमाल आधार शिविरसम्म पुगेर फर्कने गर्दछन् ।

मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार दुई मिटर उचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्गमा अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म बनेका पूर्वाधार तथा थपिँदै गएका सेवा सुविधामा कुनै न कुनै रूपमा गौतमको योगदान रहेको यहाँका व्यवसायी स्मरण गर्दछन् ।

पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौवटा, बादल डाँडामा छवटा र डुँडखर्कमा तीनवटा होटेल सञ्चालनमा आइसकेका छन् । सन् १९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैँसीपालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकोमा त्यसयता भने भने ठूलै सङ्ख्यामा खुलेका होटेलले पर्यटकको चाहनाअनुसार सेवा प्रवाह गरिरहेको अघिल्लो वर्ष रासससँगको कुराकानीमा गौतमले बताउनुभएको थियो ।

गौतमको निधनले पदयात्रा पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो । उक्त पदयात्रा मार्ग मात्र नभई गौतमले पर्वतीय पर्यटनसँगै पदयात्रा पर्यटन र वातारणीय संरक्षणमा अतुलनीय योगदान गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

गौतमकै पहलमा गत वर्ष मर्दी हिमाल आधार शिविरमा दिगो हिमालयन कोष नामक संस्थाको आयोजनामा पहिलो पटक स्की महोत्सव भएको थियो । मर्दी हिमालमा नै पर्यटन र पर्वतारोहणको प्रयोगात्मक शिक्षा दिनेस्थलका रूपमा विकास गर्ने लगायतका विभिन्न्न योजनासमेत गौतमले अघि सार्नुभएको थियो ।

२०४४ साल कार्तिकमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सिदिङमा जन्मिनुभएका सुदीपको शुक्रबार साँझ ३५ वर्षको उमेरमा मृत्यु भएको हो । पानीको समस्या समाधान गर्न निस्किएका सुदीपको हाइक्याम्पमाथि रहेको भीरबाट खसेर मृत्यु भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com