Follow @khasokhasmag

शारिरीक रुपमा निष्क्रिय व्यक्तिलाई मुटु रोगको बढी जोखिम हुन्छ : डा. ओममूर्ति अनिल (अन्तर्वार्ता)


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

विश्वमा मुटुरोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मुटुरोग तथा रक्तनली रोगबाट हरेक वर्ष मृत्यु हुने मानिसहरुको संख्या उनीहरुको विलाशीतासँगै सँगै बढ्दै आएको तथ्यांकले देखाएको छ । विश्वका ८५ प्रतिशत मानिसले हृदयघात तथा मस्तिष्कघातबाट ज्यान गुमाउनु परेको छ । मुटु रोग कस्तो प्रकारको रोग हो र यसबाट बच्न के गर्ने ? लगाएतका विषयमा नेशनल कार्डियाक सेन्टरका मुटुरोग विशेषयज्ञ डा. ओममूर्ति अनिलसँग गरेको कुराकानीको सम्पादित अंशः

मुटु रोगको जोखिम कस्ता व्यक्तिलाई बढी हुन्छ ?
चुरोट खाने, मदीरा अत्याधिक सेवन गर्ने मोटो मानिस, शारिरीक रुपमा निष्क्रिय व्यक्तिलाई मुटु रोगको बढी जोखिम हुन्छ ।

मुटु रोग कति प्रकारका हुन्छ ?
मुटुरोग धेरै प्रकारको हुन्छ । मुटु रोग भन्ने बित्तिकै मानिसले एउटा रोग भन्ने बुझ्छन् । तर, त्यो होइन् । मुटु रोगमा धेरै प्रकारका रोगहरु मिसिएको हुन्छ । जस्तैः मुटुमा बलकेजको रोग हुन्छ । भल्बको रोग हुन्छ । चाल सम्बन्धि रोग हुन्छ । जन्मजात रोग हुन्छ । मुटुको मांशपेशीको रोग हुन्छ । त्यसै गरि फरकफरक रोगहरुलाई हामी मुटु रोग भन्छौं ।

यसको रोकथामको लागि के गर्नुपर्ला ?
मुटु रोगमा मुलतः व्यक्तिले जान्नुपर्ने रोकथाम हो । हामीले गर्न सक्ने भनेको रोकथाम हो । मुटुरोग लाग्न नदीन नै हामीले व्यक्तिगत दस्तरमा प्रयास गर्नुपर्छ । त्यसको लागि आफ्नो जीवन शैली राम्रो गर्ने, कुलतबाट टाढा बस्ने र समयसमयमा स्वास्थ्य जाँच गर्ने । मुटु रोग लागिसकेपछि यसको जाँच चाहिन्छ । त्यसको उपचार चाहिन्छ । औषधी खानुपर्ने, अप्रेशन गर्नुपर्ने हुन्छ । व्यक्तिले समयमै लक्षणलाई पहिचान गरेर मुटु रोगको दुर्घटनालाई जोगाउन सक्छ ।

मुटु रोगलाई घरमै प्राथमिक उपचार गर्न सकिन्छ ?
मुटु रोगलाई घरमा कन्ट्रोल गर्न सकिँदैन् । कहिले पनि कोशिस  गर्नुहुँदैन् । मुटुरोगको लक्षण देखिना साथ उपचारको प्रक्रियामा जानुपर्छ । त्यसको लागि चेकअप गर्नुपर्यो । सम्बन्धित विज्ञलाई देखाएर उपचारको बाटोमा जानुपर्छ ।

म हृदयघातको जोखिम छु वा छैन् भन्ने कसरी थाहा पाउने ?
आफू मुटुरोगी हो कि होइन् पत्ता लगाउने सबैभन्दा सजिलो उपाय भनेको व्यक्तिले आफ्नो लक्षणको बारेमा विशेष ध्यान दिनुपर्छ । मुटुरोगका लक्षणहरु के हुन्, म सँग ती लक्षणहरु छ कि छैनन् । जस्तैः छाती दुख्नु, मुटु ढुकढुक हुनु, छाती सँगसँगै पसिना आउनु, बेहोशी हुन खोज्नु या बेहोश हुनु, थकाई धेरै लाग्नु, जीउ गल्नु, जीउ सुनिनु, खुट्टा सुनिनु इत्यादी मुटु रोगका लक्षणहरु हुन् । यो लक्षण हुँदैमा कसैलाई मुटु रोग लाग्छ भन्ने पनि हुँदैन् । मुटु रोग एउटै व्यक्तिमा दुई तीन किसिमको लक्षण छ । या, लक्षणहरु तीव्र रुपमा बढिराखेको, ती लक्षणहरु ठिक नहुने । त्यस्तो लक्षणहरु छ भने अल्लि स्टेज मै डाक्टरकोमा जँचाउनु भयो भने यसबाट रोगको पहिचान हुन्छ ।

जस्तैः कसैलाई छाती दुखेको छ भने मुटु रोगले पनि दुख्छ, अरु कारणले पनि दुख्छ । व्यक्तिले यसलाई निर्णय गर्न एकदम गाह्रो हुन्छ कि मलाई मुटु रोग कै कारणले दुखेको हो या अरु कारणले दुखेको हो । त्यसैले मलाई के लाग्छ भने, एउटा व्यक्तिले, सचेत व्यक्तिले लक्षणको आधारमा मलाई यो लक्षणहरु छन्, यो लक्षण मुटु रोगको पनि हुन सक्छ, मैले एक पटक चेकअप गर्नुपर्छ भन्ने बुझाई राख्नुपर्छ ।

खासगरी, मुटु रोग कुन उमेर समूहको मानिसलाई बढी हुन्छ ?
मुटु रोग जुनसुकै उमेरको व्यक्तिलाई पनि हुनसक्छ । सानो बच्चालाई जन्मजात मुटुको रोग हुन्छ, अलिकति ठूलो व्यक्तिलाई मुटुको भल्ब सम्बिन्ध रोग हुन सक्छ । मुटुको चालसम्बिन्ध रोग जसलाई पनि हुन सक्छ, सानो उमेरको लाई पनि हुन सक्छ, वयस्कलाई पनि हुन सक्छ, वृद्धलाई पनि हुन सक्छ । मुटुको बलकेजको जुन रोग हुन्छ, जसलाई हामीले मुख्य मुटुरोग भनेर पनि बुझ्छौं । त्यो भनेको हृदयघातको रोग हो । त्यो चाँही प्रायः ५० वर्षभन्दा माथिकोलाई हुन्छ । हृदय घात नै हो सबैभन्दा महत्वपूर्ण किनभने सबैभन्दा बढी मानिस हतहात हुने मुटुरोग भनेको हृदयघात नै हो ।

नेपालमा पनि मुटु रोगीहरुको संख्या बढेको कुरा बाहिर सुन्नमा आउँछ, खास कुरा के हो ?
खानपनि जीवनशैली पनि बिग्रिएको छ, सहरीभेगमा । त्यसैगरी रोग पनि समयमै पत्ता लागिरहेको छ । मुख्य शहरमा मात्रै होइन्, अलिकति सानासाना शहरमा पनि मुटु रोगको जाँच र विज्ञहरुको सुविधा भएको कारणले पहिला भन्दा मानिस जागुरुक भएको छन्, जचाउन गइराखेका छन् । जसले गर्दा मुटु रोग अलि स्टेजमा पत्ता लाग्न थालेकोले हामीलाई लाग्छ कि मुटुरोग बढेको हो । मुटु रोग सधै बढी राख्ने कुरा नै हो । किनभने दिनप्रतिदिन हाम्रो जीवनशैली बिग्रिदै गएको छ । जसको कारणले मुटु रोग बढ्नु स्वभाविक हो ।

हामीले मुटु रोगको जाखिमबाट बच्न कुन उमेर देखि सर्तकता अपनाउनु पर्ला ?
स्वास्थ्यमा लगानी भनेको सानै उमेरदेखि नै गर्ने हो । त्यो भनेको हाम्रो पहिलो २० वर्षमै खानपिन, हाम्रो व्यवहार, हाम्रो हिँडाई, हाम्रो स्वास्थ्यप्रतिको चेतना, सर्तकता । हामीले पहिलो २० वर्षमै यो बढी गर्यौ भने प्रेसर सुगरको कलस्टोल हुँदैन् । त्यसपछि मुटुरोग लाग्दैन् । हामी ढिलो सचेत हुन्छौं, जब ४०,५० वर्ष पुग्छौं, त्यसपछि मात्र मुटुरोगको करा गर्न थाल्छौं, मुटुरोगको जोखिममा छु भन्ने सोच्न थाल्छौं, त्यो होइन् । हाम्रो सानैदेखि खानपनि, व्यवहार हामीले राम्रो गर्यौ भने मुटु रोगको जोखिम कम गर्न सक्छौं ।

के अतिरिक्त तनावले मुटु रोगको जोखिम बढाउँछ ?
अतिरिक्त तनावले मुटु रोग पनि बढाउन सक्छ र मुटु रोगको लक्षणहरु आउन सक्छ । अतिरिक्त तनावले जुन लक्षण देखाउन्छ, त्यो भनेको मुटु रोगसँग मिल्दो जुल्दो पनि हुन्छ । त्यो भनेको कसैलाई चिन्ता वा तनाव भयो भने मुटु ढुकढुक हुने, मुटुको धड्कन बढ्ने, मुटुको गति बढ्ने, ब्लड प्रेसर बढ्ने, पसिना आउने, छातीमा अप्ठ्यारो फिल आउने, यो लक्षण मुटु रोगको पनि हो र नर्मल मान्छेलाई पनि चिन्ता वा तनावको बेलामा यस्तो हुन सक्छ । यस्तो भयो भने हामीलाई अलि कन्युजन हुन्छ, त्यसैले यस्तो अवस्थामा चिकित्सकीय परामर्श लिनुपर्छ ।

मुटु रोगको उपचार गरिरहेको विरामी र आफन्तले उपचारलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
विरामीलाई उपचारको कुरा सबैको लागि उस्तै हो । बराबर हो । सबै चिकित्सकले आफ्नो क्षमताहरुलाई बेष्ट दिन खोज्छन् विरामीलाई । जहाँसम्म मुटुरोगको कुरा हो, यसमा अलिकति सेनसेटिभ विषय भएको कारणले केयरफुल हुनुपर्छ, स्वास्थ्यकर्मीले पनि र विरामीले पनि । विरामीलाई के लाग्छ भने, सबै कुरा डाक्टरले नै गर्दिने हो, स्वास्थ्यकर्मीले नै गर्दिने हो । त्यो चाँही पुरै सही होइन् । किनभने एउटा राम्रो उपचारको लागि जति भूमीका चिकित्सकको छ, त्यति नै भूमीका अरु चिकित्सको टिमको हुन्छ, नर्सको हुन्छ, अरु पारामेडिक्सको हुन्छ ।

त्यसैगरी विरामीको भुमीका पनि त्यत्तिकै हुन्छ, विरामीको घरको मानिसको भूमीका पनि त्यत्तिकै हुन्छ, किनभने एउटा औषधी मात्रै लेखिदिएर विरामीलाई हुने भन्ने हुँदैन् त्यसमा अरु धेरै कुराहरु, व्यवहारको कुराहरु, समयमै जाँच गर्ने कुरा लक्षण पहिचान गर्ने कुरा, विरामी अलि बढी उमेरको हुन्छ, उसले औषधी खान गल्ती गर्न सक्छ । तसर्थ धेरै कुराहरु भएको कारणले यो भनेको कलेक्टिक एभरोज हो । समष्टिगत रुपमा सबैको प्रयास भयो भने उपचार राम्रो हुन्छ ।

के मुटु रोग लाग्न नदिन स्वयं व्यक्ति नै सर्तक हुनु आवश्यक छ ?
कमिकमजोरीको कारण धेरै हुन्छ । तर, यसमा धेरै कुराहरु हुन्छ । त्यसैले हामीले कुन पक्षलाई समात्ने भन्ने कुरा हुन्छ । व्यक्ति जो आफू केयरफूल छ, आफ्नो स्वास्थ्य प्रति सर्तक छ भने उसले कहिले काहीँ मिति सकिएको औषधी दिनुभयो भने पनि उसले पत्ता लगाउन सक्छ कि यो औषधीको मिति सकिसकेको छ, खान्न भनेर । सबै जनाको उत्तिकै भूमीका हुन्छ । जचाँउनेदेखि लिएर औषधी खाने कुरा सम्म मानिस स्वयं पनि उत्तिकै सर्तक हुन जरुरी छ ।

 मुटु रोगको जोखिमलाई कम गर्न के गर्नुपर्ला ?
मुटु एकदमै संवेदनशील अंग हो । दिन भरीमा एक लाख पटक धड्किनुपर्छ मुटुलाई । झण्डै दमकलमा जति पानी हुन्छ नि त्यति रगत फाल्नुपर्छ एकदिनमा । यो अंगलाई लामो समयसम्म अनवरत रुपमा एक्शन गर्ने भएको कारणले यो अंगलाई प्रोटेट गर्न पनि उत्तिकै संवेदनशील, सर्तक र जवाफदेही पनि हुनुपर्छ । यसको लागि हामी कमै उमेरदेखि आफ्नो खानपान, व्यवहार, शारिरीक गतिविधि, समय समयमा स्वास्थ्य जाँच गर्ने, रोग लागेको छ भने उपचार गर्ने, केही लक्षण छ भने त्यसको समयमै पहिचान गर्ने, उपचारको प्रक्रियामा जाने, रोकथाममा पनि ध्यान दिने, स्वास्थ्यलाई हानी गर्ने बानीहरु सानैदेखि नसिक्ने, जुन कुराले हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ त्यतातिर जान प्रेरित गर्ने लगाएतका कुराहरु हामी गर्न सक्छौं भने मुटु रोगको जोखिमलाई अत्याधिक रुपमा घटाउन सक्छौं । (डा.ओममुर्ति भारतको नयादिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडीकल साइन्स (एम्स) बाट इन्टरभेन्सन कार्डियोलजिमा डिएम हुनुहुन्छ )

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com