विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । दिवस भव्य रूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको निर्देशक लामिछानेले जानकारी दिनुभयो । दिवसको अवसरमा बिहान राजधानी काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी छन् ।

यस्तै बिहान ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिउँसो बोर्डको सभाहलमा औपचारिक समारोह आयोजना हुने र त्यहाँ सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनीलाई सम्मान गरिने कार्यक्रम छ । ‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रक्तादान, फुटसल र बुङ्मतिमा सम्पदा यात्रा कार्यक्रम गरिएको छ ।

कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन क्षेत्रको चाँडो पुनरुत्थान गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने भन्दै पर्यटन चलायमान भएको सन्देश दिन दिवस सान्दर्भिक हुने धारणा राख्नुभयो । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा रहेको छ । पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ ।

यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थगन भएको थियो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।-रासस/फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com