म कलेज जानै नसक्ने अवस्थामा पुगिसकें :कानुनी जिज्ञासा
प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार
भाद्र २०, २०७३
अनु को प्रश्न
म २२ वर्षीया छात्रा हुँ । कलेज आउने–जाने बेलामा सधैं एउटा अधबैसे पुरुषले बाटो कुरेर मलाई जिस्काउँछ । अश्लील शब्दहरू उच्चारण गरिरहन्छ । त्यो मानिस हाम्रै टोलमा बहालमा बस्दो रहेछ । यो कुरा आमाले थाहा पाएपछि उक्त व्यक्ति बस्ने घरको घरबेटी र त्यो व्यक्तिसँग कुरा गर्न जाँदा उल्टै आमालाई नै गाली गरेर पठाइदिएछ । छिमेकीहरू यो कुराको केही प्रमाण छैन भन्छन् । म कलेज जानै नसक्ने अवस्थामा पुगिसकें । त्यस्ता व्यक्तिलाई कसरी नियन्त्रणमा लिन सकिएला ? कानुनले यसमा मद्दत गर्न सक्छ कि सक्दैन ?
अधिवक्ता सिर्जना माली प्रधान
तपाईंको जस्तो समस्या हिजोआज प्राय: युवतीले भोग्नुपरिरहेको छ । अहिले सबैजसो युवती कुनै न कुनै काममा घरबाहिर जाँदा यस्तो समस्या खेप्न बाध्य छन् । बसमा होस् वा हिँड्दा नै होस्, काम गर्ने स्थानमा हाकिम वा सहकर्मीले नै किन नहोस्, विद्यालय, विश्वविद्यालयमा जुनसुकै स्थानमा पनि महिला सुरक्षित छैनन् । जतिसुकै निडर र आत्मविश्वासी भए पनि महिलाहरू कुनै एकान्त ठाउँमा जानुपरे वा अलिक अबेर भए वा कुनै पुरुषको सामुन्ने जान सक्दैनन् । यसको प्रमुख कारण हाम्रो सामाजिक रुढिवादी सोच एवं महिला भनेका उपभोग्य वस्तु हुन् भने पुरातन मूल्य–मान्यता नै हो । जबसम्म समाजमा भएका यस्ता मूल्य–मान्यतामा परिवर्तन आउँदैन र महिलाप्रतिको दृष्टिकोणमा बाल्यकालदेखि नै आदरभाव राख्ने वा राख्न प्रोत्साहन गर्ने खालको परम्परा सुरुवात हुँदैन तबसम्म यस्ता समस्या यथावत् रहन्छन् ।
अपराधीहरूले खुलेआम यौन आनन्द प्राप्त गर्न यस्ता काम गरिरहन्छन् । यस्ता खराब कामलाई विस्तारै हटाउँदै जानुपर्छ । त्यसैले तत्काल यस्ता समस्याबाट टाढा रहन र आफू सुरक्षित रहन कानुनको सहायता लिन सकिन्छ । कानुनको व्यवस्थाका सम्बन्धमा थाहा पाउनुअघि कस्ता–कस्ता क्रियाकलापलाई यौन दुव्र्यवहार वा अश्लील कार्य भन्ने जानकारी लिन जरुरी हुन्छ ।नेपालको मुलुकी ऐन आशय करणीको महलले यसको परिभाषा गरेको छ ।
जसअनुसार, कसैले कुनै महिलाको मञ्जुरीबिना संवेदनशील अंग छोए वा छुने प्रयास गरे निजले भित्र लगाएको लुगा खोले वा खोल्ने प्रयास गरे, एकान्त ठाउँमा लगे, यौनाङ्ग छुन लगाए, समाउन लगाए, अश्लील शब्द वा संकेत प्रयोग गरे, अश्लील तस्बिर देखाए, हैरानी दिए वा करणी (यौनसम्बन्ध) राख्ने आशयले समाते यौन दुव्र्यवहार मानिन्छ र त्यस्ता व्यवहार कसैले गरेमा त्यस्ता व्यक्तिलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनसक्छ । त्यस्तै गाली–बेइज्जती ऐनअन्तर्गतबाट कानुनी प्रक्रियामा जाने हो भने आफूलाई समस्या भएको मितिबाट ६ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा उजुरी गर्नुपर्छ । यो ऐनमा ६ महिना कैद वा मनासिब माफिकको क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।
त्यसैगरी केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ अन्तर्गत कानुनी प्रक्रियामा जाने हो भने आफूलाई समस्या भएको समयबाट ७ दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुपर्छ । त्यस्तो दुव्र्यवहार गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तथा २ वर्षसम्म कैद सजाय हुन्छ । यस्तो अवस्थामा ठूलो समस्या भनेको प्रमाणको हुनसक्छ । तपाईंलाई पनि यस्तो समस्या छ भने चिन्ता लिनुपर्ने कुनै कारण छैन किनभने अहिलेसम्मको उदाहरणमा प्रहरी र अदालतमा पीडित पक्षको बयानलाई नै मान्यता दिइएको देखिन्छ । त्यस्तो अवस्थामा तपाईंलाई कुनै सहयोगको आवश्यकता भए विभिन्न कानुनी सहयोग प्रदान गर्ने संस्थाहरूमा सम्पर्क राख्न सक्नुहुनेछ ।
Source : Ekantipur