बडादशैंको दोस्रो दिनः ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

नेपालीहरुको महान चाड बडादशैंको आज दोस्रो दिन । माता भगवती ब्रह्मचारिणीको पूजाआरधना गरी मनाईंदैछ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा लिइन्छ ।

ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक पनि मानिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । नवरात्रका नौ दिनमध्ये दोस्रो दिन ब्रहृमचारिणीको पूजा गर्न देशैभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तजनको चहलपहल छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com