दशैँ र तिहारको बिदामा पनि अध्यागमन विभागले सेवा प्रवाह गर्ने


प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार

अध्यागमन विभागले आगामी विजयादशमी र दिपावलीको अवसरमा हुने बिदा दिनहरुमा पनि आफ्नो कार्यलाई निरन्तरता दिने भएको छ । विभागले दशै र तिहारको बिदापनि पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला गर्ने भएको हो ।

बडा दशैं तथा दीपावलीको लामो बिदा हुने अवधिमा पनि निश्चित समय तोकेर पर्यटक भिसा र एजेन्सी शाखा खुल्ला गर्ने विभागले जानकारी दिएको हो ।

अध्यागमन विभागले विजयादशमी (टिका)को दिन बाहेक अन्य दिनमा कार्यक्रमको काम जारी राख्ने भएको हो । विजयादशमीको अवधिमा असोज १६ गतेदेखि २१ गते (तदनुसार सन् २०२२ अक्टोबर २ देखि सन् २०२२ अक्टोबर ७) मध्ये विजया दशमीको दिन आश्विन १९ गते (अक्टोबर ५) का दिन वाहेक बडा दशैँका अन्य विदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सेवा प्रवाह गर्ने विभागले जनाएको छ ।

त्यस्तै, विभागले दिपावली (भाईटिका)को दिन बाहेक अन्य दिन काम सुचारु गर्ने भएको छ । दीपावलीको अवधि कात्तिक ७ देखि कात्तिक ११ गते (तदनुसार सन् २०२२ अक्टोबर २४ देखि सन् २०२२ अक्टोबर २८) मध्ये भाइटीकाको दिन कात्तिक १० गते (अक्टोबर २७) बाहेक दीपावलीका अन्य बिदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सेवा प्रवाह हुनेछ ।

गत अगष्ट महिनामा एक लाख २१ हजार ६५७ जना नेपाल भित्रिएका छन् । नेपालमा भित्रनेमा पूरुष ८६ हजार ७०२ जना छन् भने महिला ३४ हजार ९४४ जना रहेका छन् । साथै, तेस्रो लिङ्गी ११ जना रहेका छन् ।

त्यस्तै, अगष्ट महिनामा नेपालमा अन्य मुलुकमा जानेको संख्या एक लाख ७३ हजार ७३५ रहेको छ । नेपालबाट अन्य मुलुक प्रस्थान गर्नेमा एक लाख २५ हजार ७५९ जना पुरुष रहेका छन् भने ४७ हजार ९६१ जना महिला रहेका छन् । साथै, तेस्रो लिङ्गीको संख्या भने १५ रहेको छ ।

त्यसैगरी, अगष्ट महिनामा दुई लाख ९५ हजार ३९२ जना यात्रुले आवतजावत गरेको अध्यागन विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com