ईडीभी परेकाहरु नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

काठमाण्डौंबाट प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेहरु नेपालस्थित अमेरिकन दुतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

भिसाको लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।

यसैगरी स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीले नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com