नेपालीलाई अमेरिकी भिजिटर भिसादर घट्दो, विद्यार्थी भिसादर बढ्दो


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरिसकेपछि पनि अमेरिकाले नेपालीका लागि उल्लेख्य संख्यामा भिजिटर भिसा जारी गरेको छ । तर पछिल्लो महिनामा भिजिटर भिसा पाउने नेपालीहरुको संख्या केही घट्दो रहेको छ । नेपालीले विद्यार्थी भिसा पाउने दर बढेपनि भिजिटर भिसा पाउने दरमा कमी आएको हो । मे महिनामा भिजिटर भिसा बीवान र बीटु पाउने नेपालीहरु १६१० जना रहेका छन् । त्यो बाहेक बी वानमात्र पाउनेहरु ९ जना र बी टुमात्र पाउनेहरु १ जना रहेका छन् । काठमाडौंमा रहेको दूतावासले भने मे महिनामा बीवान र बीटु क्याटेगोरीमा १४१० जनालाई भिसा जारी गरेको छ । त्यस्तै बी वान क्याटेगोरीमा एकजनालाईमात्र भिसा जारी गरेको छ ।

जबकी अप्रिल महिनामा १६५६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा (बीवान बीटु) प्राप्त गरेका थिए । त्यो बाहेक अप्रिलमा बीवान र बी टु छुट्टा छुट्ै क्याटेगोरीमा थप ६ नेपालीहरुलाई अमेरिकाले भिसा जारी गरेको थियो । अप्रिल महिनामा काठमाडौंमा रहेको दूतावासले भने १४८९ जनाका नाममा भिजिटर भिसा जारी गरेको थियो ।

मार्च महिनामा भने अमेरिकाको बी क्याटेगोरीमा भिजिटर भिसा पाउने नेपालीहरु अझ धेरै थियो । मार्चमा १९८५ जना नेपालीहरुले बी वान बी टु संयुक्त क्याटेगोरीमा भिजिटर भिसा पाएका थिए । मार्चमा बी वान मात्र पाउने थप ६ जना र बी टुमात्र पाउने थप ५ जना रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र मार्चमा १७७४ भिजिटर भिसा जारी गरेको थियो ।

नेपालीलाई प्रदान गरिएको भिसा विवरण


विद्यार्थी भिसा चारगुणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । अप्रिल महिनाको तुलनामा मे महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको दर झण्डै चारगुणा बढेको हो ।

अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार मे महिनामा ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने उनीहरुका २८ जना डिपेन्डेन्टहरुले पनि अमेरिकाको भिसा पाएका छन् । जसमध्ये काठमाडौंमा रहेको दूतावासबाट अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरु ४३६ जना रहेका थिए भने अरु १५ जनाले अरुदेशबाट भिसा पाएका थिए । डिपेन्डेन्ट भिसा पाउनेहरुभने सबै काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाउनेहरु हुन् ।

फरबरीमा हरेक दिन औषतमा १ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । मार्च महिनामा हरेक दिन औषतमा एकदेखि दुईजना नेपालीलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएको अप्रिलमा भने औषतमा हरेक दिन ५ देखि ६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाए । मे मा भने हरेक दिन २० देखि २२ जनासम्म नेपालीहरुले अमेरिकाको भिसा पाए । हरेक दिन झण्डै २ सय जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने दुतावास श्रोतको भनाई छ ।

ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अप्रिलमा ११९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ११६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र ३ जनाले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

 

मार्चमा भने जम्मा ३६ जना नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३१ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र अन्यले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए । मार्चमा विद्यार्थी भिसाका ३२ जना नेपाली डिपेन्डेन्टहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र २ जनाले अरुदेशमा रहेका दूतावासबाट डिपेन्डेन्ट भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने अमेरिकी भिसा पाउने विद्यार्थी भिसाका डिपेन्डेन्टहरु २७ जना रहेका थिए । उनीहरु सबैले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

गतबर्ष (आर्थिक बर्ष २०१६) ओबामा कार्यकालमा ६४४० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । गतबर्ष औषतमा हरेक महिना साढे ५ सय नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com