बझाङबासीका पीडा : ‘आकाश हेरेर सुत्ने समय यकिन हुन्छ’


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

-भूमिराज पिठातोली/ बझाङको खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन्। खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन्। राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने वित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो ।

आइतबार राति पनि महादेवलाई त्यस्तै भयो। दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो। तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो ।

“एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,” महादेव भन्छन्, “राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।”

त्यसपछि महादेवले गाउँलेलाई उठाए। रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुपर्यो। “गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,” महादेवले भने, “गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ। गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन्। पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ। उनले भने, “दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ। साँझ मौसम केही सुधार भयो। मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो। डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ । ”

खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ। राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो ।

“पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,” खातीले भने, “जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ। अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।”

गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो। सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो ।

“गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ”, उनले भने, “दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो। दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ। मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।”

खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन्। उब्जनी गर्ने जमिन कसैको पनि छैन। घर भने दुई परिवारबाहेक सबैका छन्। “हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,” हर्कबहादुरले भने, “मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो। गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ। अहिले जमिन शून्य छ। घर भने त्यसैमा बसिरहेका छौँ ।”

गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना छन्। रोजगार कसैको पनि छैन। बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए। प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै छन्। “कमाउने कोही छैन। छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन। सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन्। अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ”, उनले भने ।

अहिले खोलामा गड्याङगुडुङ सुरू हुने वित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन्। “तल्लाबगणमा १० परिवार छन्”, महादेव भन्छन्, “राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ। आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।”

शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उनले बताए। “निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ”, उनले भने, “त्यो दिन पनि रातभर निन्द्रा नै लागेन। गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । “गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए”, गिरी भन्छन्, “राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ। त्यसपछि भागाभाग भयो ।”

गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो। घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो। “त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।” उनकी श्रीमतीले भनिन्, “बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ। भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।”

जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ। तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन्। खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्छन्, “अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन। यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौँ ।”

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उनीहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउँछन्। उनले भने, “अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन। घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौँ ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com