निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज टुँडिखेलस्थितसैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पार्नुभयो । “संविधान दिवसका अवसरमा उक्त लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वाेपरी ठान्दै विकास र सम्मुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्रलगायत सबैमा आह्वान गर्दछु”, उहाँले भन्नुभयो, “अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार नै हो ।”

संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्डयाएर परिक्रमा गर्दै । हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको ब्यानर झुण्डयाएर परिक्रमा गर्दै…

प्रधानमन्त्री देउवाले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न जरुरी रहेको भनाइ व्यक्त गर्नुभयो । लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताकै लागि उनीहरुको इच्छाबमोजिम गरिने शासन हो भन्दै उहाँले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “लोकतन्त्रमा सबै जनता संविधान र कानुनले सुनिश्चित गरेको हकअधिकार समानरुपमा उपभोग गर्न सक्ने हैसियतमा हुनुपर्छ । शासन प्रणालीमा सबै जनता अटाउने र राज्यका अवसरहरुमा सबैले समान हिस्सा पाउने व्यवस्था यसको आधारभूत चरित्र हुनुपर्छ । कसैलाई पनि नछोड्ने सबैलाई सँगसँगै लिएर अघि बढ्ने विशेषता यसको हुनुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउँदै उहाँले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद् र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनुभयो ।

उहाँले विनासकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण नसकिँदै कोभिड– १९ को महामारी र डेङ्गुको प्रकोपबाट थप पीडित हुनुपरेको उल्लेख गर्दै सबैको समन्वयात्मक प्रयासबाट महामारी नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com