कैलाली बाढीपछि : सडकमा बसेका गर्भवती र सुत्केरी


प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार

–दुर्गा देवकोटा/ कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनुभयो । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । “आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु”, उहाँले भन्नुभयो, “पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।”

दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । “घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ”, उहाँले भन्नुभयो, “यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।” अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनुभयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उहाँको बच्चालाई रुघाखोकी सुरु भएको छ । “घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो”, उहाँले भन्नुभयो, “लौ न सरकार भएको महसुस गराइदिनुप¥यो । हामी त बर्बाद भयौँ ।” भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । “हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ”, उहाँले भन्नुभयो, “लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।”

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै सो दिन खटिसकेका जानकारी दिनुभयो । “हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनुभयो । “सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ”, उहाँले भन्नुभयो, “महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।”

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com