बाबुरामलाई बालेनको जवाफ-यो कुरा पहिले किन नसोचेको ?


प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार

फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल–जवाफ सुरु भएको छ ।

फुटपाथलाई व्यवस्थित गर्न डा.भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको सुझावलाई मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउँदै भनेका छन्, ‘फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको ?’

डा. भट्टराईले सामाजिक सञ्जाल  ट्वीटर मार्फत बालेनलाई जवाफ दिँदै लेखेका थिए,  ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्, फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’ यसको जवाफ दिँदै  मेयर शाहले लेखे ‘यो कुरा त तपाईँले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नु पर्थ्यो नि ।’

पछिल्लो समय काठमाडौं महानगरभित्र बनाइएका अनधिकृत संरचना हटाउने अभियानलाई महानगरले तिब्रता दिएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com