फुटपाथ व्यापारीले घेरे काठमाडौं महानगर, भन्छन्- ‘चार्डपर्वको बेला रोजीरोटी खोसियो’


प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । नेकपा एमाले निकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार विरोध प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । उनीहरुले विकल्प नदिई फुटपाथबाट व्यापारीलाई विस्थापन गरिएको भन्दै प्ले कार्डसहित प्रर्दशनमा उत्रिएका हुन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ ।

प्रदर्शनकारीहरुले गरिखान देऊ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, महानगरको ज्याजती बन्द गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, कि रोजगार देऊ कि स्वरोजगार हुन देउ, स्वरोजगार श्रमको सम्मान गर, लगाएतका प्लेकार्ड र नारा लगाएका थिए।

व्यापारीहरुले फुटपाथबाट गुजारा चलाईरहेको बताउँदै महानगरपालिकाले रोजिरोटी खोसिदिएको आरोप लगाएका छन् । बिहान–साँझ ६ बजेदेखि ८ सम्म व्यापार पाउनुपर्ने या कुनै ठाउँमा अल्पकालिन, दीर्घकालिन तरिकारले व्यवस्थित गरिदिनुपर्ने माग राखेका छन् ।

आन्दोलनमा सहभागि व्यापारी भन्छन्, ‘अहिले मात्र फुटपाथमा व्यापार गरिएको हैन्, २०/२२ वर्ष भयो । त्यसलाई व्यवस्थापन तरिकाले कि समय तोकिदिएर दिनुपर्यो, कि एउटा स्थान तोकेर दिनुपर्यो।’

अर्का व्यापारी भन्छन्, ‘हामीले गरिखान पाउँ, हाम्रो रोजिरोटी खोसिएको छ । दुःख पाएर हामी यसरी सडकमा आएका छौं । हामी धेरै समय बस्दैनौं । दुई घण्टामात्र समय दिनुभयो भने पनि छोराछोरी पाल्नको लागि माग गर्न आएका हौं ।’

अधिकांश व्यापारीहरुको एउटै भनाई छ, ‘दुई घण्टामात्र व्यापार गर्न दिए गुजारा चलाउन्थ्यौं ।’

साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए । उनीहरुले दसैं–तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा आफूहरुलाई जिविकोपार्जनमा समेत रोक लगाउने कार्य भएको भन्दै महानगरको विरोध गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com