जनताले माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहान्छन् : अध्यक्ष प्रचण्ड (भिडियो)


प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको लोकप्रिय बन्दै गएको बताएका छन् । उनले जनता माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको जिकिर गरे । प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना जनताको मन रहेको स्थानीय चुनावबाटै प्रष्ट भएको उल्लेख गरे ।

प्रचण्डले भने, “माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने, जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहान्छन् । देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ ।”

पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले प्रक्रियागत ढंगले खडा गरेको उम्मेद्वार केबल व्यक्तिमात्र नभई सिंगो पार्टी हुने बताए । उनले निर्वाचनमा व्यक्ति जित्ने या हार्ने मुख्य नभएको उल्लेख गर्दै पार्टीले जित्ने या हार्ने विषय महत्वपूर्ण हुने धारणा राखे । यही विषयलाई बुझ्ने हो भने माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्यूनिष्ट पार्टी बन्ने आधार मजबुत रहेको उनको दाबी छ ।

“पार्टीले विधिसंवत ढंगले, प्रक्रियागत ढंगले निर्णय गरेर उम्मेद्वार खडा गरिसकेपछि त्यो व्यक्ति रहँदैन्, त्यो पार्टी हुन्छ । त्यो निर्णय पार्टीको हुन्छ । त्यो व्यक्ति जित्ने या हार्ने मुख्य कुरा होइन्, मुख्य कुरा पार्टीले जित्ने या हार्ने हुन्छ । यति सानो कुरा हामी सबैले बुझ्ने हो भने माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्यूनिष्ट पार्टी बन्ने आधार मैले मजबुत देख्छु ।”, प्रचण्डले भने ।

प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिकारी कम्यूनिष्टहरुको प्रयासले नै देश संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकमा गएको बताउँदै जतिसुकै नकार्न खोजेपनि ईतिहासले यसलाई स्वीकार्य नगर्ने प्रष्ट पारे । उनले ईमान्दारका साथ मिहिनेत गरे आगामी निर्वाचनमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

(भिडियो)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com