‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भिड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे ।

वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउँछन्, कलाकार हरि पोखरेल । आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उनले बताए ।

‘रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हुँदैनथ्यो, खैँजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते’, उनले भने, ‘हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिलेजसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।’

उनी दोहोरी गाउनमा बढी रुचि राख्छन् । विभिन्न जिल्लामा पुगेर दोहोरी गाएर उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । अहिले भने आफूलाई दोहोरी गाउने इच्छा भए पनि वातावरण नहुँदा प्रतिभा नै ओझेलमा परेको गुनासो पोखे । ‘कला संस्कृतिको प्रोत्साहनका लागि निश्चित बजेट व्यवस्थापन गरेर कला देखाउने माध्यम बनाउनुपथ्र्यो तर स्थानीय सरकारबाट यससम्बन्धी केही कदम हुन सकेन, देखावटीका लागि नगर प्रोफाइल तयार पारे पनि त्यसमा विस्तृतमा संस्कृति नसमेटिने हुँदा यहाँका कला संस्कृति ओझेल परेको छ’, कलाकार पोखरेलले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रूचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ ।

कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँझ हो । रामपुरमा दोहोरी साँझको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् । राजनीतिब नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु छन् । सानैदेखि कलाकारितामा रुचि राख्ने उनी आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउँछन् ।

स्थानीय सरकारले आधारभूत तह (कक्षा १–८ सम्म) अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उनले बताए । कलाकार कँडेल विभिन्न गीत– सङ्गीतका म्युजिक भिडियो छायाङ्कन तथा निर्देशन गर्ने, सम्पादन गर्ने, टेलिशृङ्खलामा कथा लेख्ने गर्छन् । करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा पाइला चालेका उनी अहिले डकुमेन्ट्री, वेवसिरिज बनाउने कार्यमा व्यस्त छन् ।

यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइदिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउँछन् ।

‘कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले देखिने गरी काम गर्न सकेन, स्थानीय प्रतिभा सिधै प्रदेश र केन्द्रसँग जोडिन सक्ने अवस्था छैन’, उनले भने, ‘व्यक्तिमा लुकेर रहेको प्रतिभा देखाउने अवसर स्थानीय सरकारले खडा गरेमा राष्ट्रियस्तरसम्म पुग्ने प्रतिभावान् कलाकार धेरै निस्कन्छन् ।’

उनका अनुसार यहाँ अवसर नपाउँदा राष्ट्रियस्तरसम्म पहिचान बनाउन सक्ने व्यक्ति ओझेलमा परेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ पाल्पाले केही समय पहिले स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, विभिन्न कार्यक्रम आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने कार्यले यहाँका कला र गला भएका व्यक्ति उत्साहित थिए । अहिले भने संस्था निस्क्रिय अवस्थामा रहँदा पहिलेजसो कलाकारिता जुर्मुराउने माध्यम छैन ।

कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ,’ उनले भने, ‘लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।’

आर्थिक वर्ष २०७९/८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवर्द्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ ।

साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवद्र्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण/मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रियस्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी,  खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाएका छन्।

स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ । यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ । सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ ।

कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रियस्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com