उच्चस्तरीय भेटघाटमा व्यस्त चिनियाँ नेता ली झान्शु (तस्वीरहरु)


प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार

तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली झान्शु सोमबार नेपाल आईपुगे । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुलाई स्वागत गर्दै सभामुख अग्नी सापकोटा

सभामुख सापकोटा र अध्यक्ष ली बीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उनको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । उक्त भेटघाटमा चिनियाँ राष्ट्रपतिले अगाडि सारेको बीआरआई, दुईदेश बिचको सहयोग आदानप्रदान साथै नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि छलफल भएको थियो ।

सभामुख सापकोटाले सोमबार रात्री ली झान्शुको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । रात्रिभोजमा सभामुख सापकोटाले संघीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकामा अध्यक्ष लीप्रति आभार प्रकट गर्दे उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने र जनता जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

ली झान्शु र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच छलफलमा ली झान्शु

मंगलबार बिहान अध्यक्ष ली झान्शु र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । संघीय संसद् भवनमा भएको संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै, चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी स्थायी समितिका अध्यक्ष ली चान्शुले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता भएको छ ।

ली झान्शु र एमाले अध्यक्ष केपी शर्मा ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा ली झान्शु
ली झान्शु र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलमा ली झान्शु

तीन दिने भ्रमणका लागि नेपाल भ्रमणका आएका लीले आजै अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र दिउँसो तीन बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनर्निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा भ्रमण दलमा ६ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अरू कर्मचारीसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिहीबार स्वदेश फर्कने छन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com