अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा. सुवेदीलाई अक्सफोर्डको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान
प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले अन्तरराष्ट्रिय कानून र मानव अधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भन्दै प्राचीन शेल्दोनिअन थिएटरमा आयोजित दीक्षान्त समारोहबीच सुवेदीलाई सो उपाधि प्रदान गरिएको हो । अक्सफोर्डको यो उपाधि धेरै शताब्दी अघि स्थापना भएको हो ।
अक्सफोर्डको कानून संकायकी डीन प्राध्यापक आन डेभिसले सुवेदीलाई दीक्षान्त समारोहमा प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकूलपतिले महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् ।
अन्तरराष्ट्रिय स्तरमा १२ वटा ग्रन्थ र ५ दर्जनभन्दा बढी अनुसन्धानात्मक प्राज्ञिक लेख संसारका विशिष्ट जर्नलहरुमा प्रकाशित गरेका सुवेदीले आफ्नो योगदानलाई अक्सफोर्डले सम्मान गरेकोमा गौरवान्वित भएको बताए ।
झन्डै ११४ वर्ष पछि उक्त उपाधि पाउने प्रा सुवेदी पहिलो नेपाली हुन् । प्रा सुवेदी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन्। सन् १९०८ राणा प्रधानमन्त्री चन्द्र समशेरलाई अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो।
महाविद्यावारिधि उपाधि प्रदान गर्ने घोषणा गरेको दुई वर्षपछि अक्सफोर्डले प्रा सुवेदीको नाममा प्रत्येक वर्ष कानूनमा विद्यावारिधिको उत्कृष्ट शोधग्रन्थ प्रस्तुत गर्ने मेधावी विद्यार्थीलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो ।
दीक्षान्त समारोहपछि प्रा. सुवेदीले अध्ययन गरेको अक्सफोर्डको एकसेटर कलेजका प्राचार्य सर रिक ट्रेनरले सुवेदीको सम्मानमा एक दिवा भोज आयोजना गरेका थिए ।