सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौं जिल्ला अदालतको अनुमति
प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौंले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेकाे हाे।
अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाण्डौका एक प्रहरी अधिकारीले बताएका छन् ।
बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौंका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी क्यारेबियान प्रिमियर लिग खेल्न गएका हुन।
लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।






