मनोनयन दर्तापछि वर्तमान संसद् रहँदैन : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय र प्रादेशिक निर्वाचनका लागि मनोनयन दर्तापछि वर्तमान संसद् नरहने बताएका छन्। कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ का लागि हुने निर्वाचनको मनोनयन दर्तापछि संसद नरहने बताएका हुन्।

‘मंसिर ४ मा निर्वाचन हुन्छ। मनोनयन पछि संसद रहँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘एक्दम क्लियर, त्यहाँ दुविधा रहनै पर्दैन।’

संसदको आयु लम्ब्याउन तिर जान नहुने भनेर आफूहरुले पाँचदलीय गठबन्धनमा छलफल गरेको उनले बताए। ‘आयु लम्ब्याउनेतिर जान हुँदैन भन्ने अस्ती हामीले गठबन्धनमा बसेर छलफल गरेका छौँ,’ प्रचण्डले भने, ‘एक दिन पनि यता उता गर्न हुँदैन।’केही प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको उनको भनाइ थियो।

‘केही टेक्निकल कारणले केही समय लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरुले सोच्नु भएको रहेछ,’ प्रचण्डले भने, ‘तर, पछि गठबन्धन बसेर यसरी सोच्न हुँदैन। यहाँ कहीँ इफ बट हुन दिन हुँदैन अब।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com