पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’लाई, साधना सम्मान र गौरव पुरस्कार माया ठकुरी र सन्दुक रुइतलाई


प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई प्रदान गरिने भएको छ ।

अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् ।

प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा पुस्तक छनौट गरिएको थियो भने त्यसपछि उत्कृष्ट पाँचवटाको छनौट गरिएको थियो । पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा रहनुभएको थियो ।

उत्कृष्ट ५ र उत्कृष्ट १५

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पद्मश्री साहित्य पुरस्कारको लागि छनौट भएका ५ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्राहलय’ रहेका थिए । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट छनौट गरिएको थियो ।

उत्कृष्ट ५

त्यसअगाडि निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्रवटा कृतिहरूको विस्तारित सूची सार्वजनिक गरिएको थियो ।

जसमा नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलकाआत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका थिए ।

उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको थियो ।

पद्मश्री साधना सम्मान माया ठकुरीलाई 

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । उहाँका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् ।

कथाकार माया ठकुरी

उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।

यसै वर्षदेखि पद्मश्री गौरव पुरस्कार

यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्ने भएको छ । यो बर्षको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

डा. सन्दुक रुइत

दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुनुहुन्छ । सन्दूक रुइत नामक उहाँको जीवनी अलि ग्रिपरबाट अङ्ग्रेजीमा लेखिएको छ भने खगेन्द्र संग्रौलाबाट नेपालीमा अनुवाद गरिएको छ ।

कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रुपैया रहेको छ ।

तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

पद्मश्री साहित्य पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्‍याइएको हो ।

२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान पनि अर्पण गर्दै आएको छ ।

२०६३ सालदेखि पद्मश्री साहित्य पुरस्कार

प्रतिष्ठानले २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुनुहुन्छ । उहाँलाई २०६३ सालमा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो ।

जीवा लामिछाने

प्रतिष्ठानका अध्यक्ष लेखक तथा व्यवसायी जीवा लामिछाने हुनुहुन्छ । उहाँले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गर्नुभएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com