मुस्ताङ लोमान्थाङमा विश्वकै अग्लो स्थानमा गल्फ खेलेर रचियो इतिहास, गिनिज बुकमा पठाइने
प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार
मुस्ताङ गल्फ कोर्सले आज लोमान्थाङमा विश्वको अग्लो उचाइमा नौवटा प्वालसहितको गल्फ प्रतियोगिता आयोजना गरेर इतिहास रचेको छ । समुद्री सतह देखि ४६४५ मिटरको उचाईमा गल्फ प्रतियोगिता आयोजना गरेर विश्व कीर्तिमान कायम गर्ने उक्त प्रतियोगितामा ३६ जनाले सहभागिता जनाएका थिए ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले सुरुवात गरेको गल्फ कोर्समा आयोजित प्रतियोगिताले गिनिज बुक अफ वल्र्ड रेकर्डमा भारतको सिक्किमको याक गल्फ कोर्सले राखेको ३,९०७ मिटरको अघिल्लो कीर्तिमान तोड्ने भएको छ ।

लोमान्थाङ गाउँपालिकाले ग्लेनलिभेटको प्रायोजनमा आयोजना गरेको कोर्स र प्रतियोगिताको उद्घाटन गर्न अक्टोजेनेरियन गल्फर डा रीता थापाले पहिलो शट हानेर गरेकी थिइन् । ८१ वर्षीय थापा काठमाडौंकी नियमित खेलाडी हुन् ।
श्याम तामाङले २२ अंकका साथ उपाधि जितेका छन् भने बलराम थापा २० अंकका साथ दोस्रो स्थानमा छन् । सुष्मा सिंहले १५ अंकका साथ महिलातर्फको उपाधि जितिन् । रविन्द्र सैनीले १४ अंकका साथ ग्रस सेक्शनको उपाधि जिते र सबैभन्दा लामो ड्राइभको अवार्ड पनि जिते । श्याम सिम्खडाले निकटतम द पिन अवार्ड जिते ।

काठमाडौंबाट २१, पोखराका १०, मुस्ताङ र बुटवलका दुई–दुई र अमेरिकाबाट एक जना गल्फमा सहभागी थिए । अधिकांश खेलाडीले स्थानीय परिस्थितिअनुसार साँझ अभ्यास राउण्ड खेलेका थिए।
सभासद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष ताशी नोर्बु गुरुङ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
विश्व इतिहास नै रच्ने प्रतियोगितामा सहभागी हुन पाउँदा आफूलाई रोमाञ्चक अनुभव भएको अमेरिका निवासी नेपाली व्यवसायी सोनाम लामाले बताए । पर्यटन प्रवद्र्धनका हिसाबले पनि यसले महत्वपूर्ण अर्थ राख्ने उनले बताए ।






