चिया बगानमा फुलेको नेपाली राष्ट्रवाद


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

मजदुरी गर्ने जनताले आ–आफ्ना मातृभाषा भुलेर पनि कार्यव्यापार गर्ने, विचार विनिमय गर्ने तथा भाव–भावना पोख्ने माध्यमका रूपमा नेपाली भाषा प्रयोग गरेकाले भारतभित्र ‘नेपाली जाति’ (नेसन) निर्माण सम्भव भयो ।

चिया कमानमा पत्ती टिपिरहेकी सुनमाया क्षेत्रिनी
कारखानामा चियापत्ती पेलिरहेको पदमबहादुर कामी….
कस्सै कस्सै कस्सैलाई पनि थाहा छैन
उसको पसिना र रगतले
यो देशको प्रगति हुन्छ हुँदैन ।
— यो देशको निर्माता को ? 

प्रदीप लोहागुण, भारतीय कवि 

‘यदि नेपालको सरकारी वा प्रशासनिक वा शैक्षिक भाषा तामाङ भएको भए तपाईंहरूले के–कस्तो समस्या भोग्नुपर्ने होला ? स्कुल–कलेजदेखि प्रहरी प्रशासन, अदालत, रोजगार, श्रमबजारमा कस्तो व्यवधान झेल्नुपर्ने होला ? एक मिनेट ठन्डा दिमागले सोच्नुहोला ।’
यस्तै प्रश्न राखेको थिएँ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको प्रांगणमा भेला भएका लेखक, कवि, पत्रकार र विद्यार्थीसामु । आफ्नो मातृभाषाभन्दा भिन्न दोस्रो भाषा सरकारी वा प्रशासनिक वा शैक्षिक भाषा हुनासाथ कसरी पछाडि परिन्छ, कसरी अपमानित होइन्छ, कसरी गरिबीको सिकार होइन्छ, कसरी अनेक खालका उत्पीडनको मार पनि परिन्छ, मेरो प्रश्नको सार थियो । कसैको मातृभाषा र भाषिक पहिचानकै कारण तल्लो वर्गमा पर्ने खतराबारे तिनीहरूले पनि खासै उत्तर खोजेको देखिँदैन, जो वर्गीय दृष्टिकोणले समाजको शल्यक्रिया र समस्या समाधान खोज्नुपर्छ भन्छन् ।
वर्गवादको मात्रै वकालत गर्नेलाई झक्झक्याउन नै यहाँ भाषाकै कारण हुने पिछडापन, अपमान, गरिबी र उत्पीडनसँग जोडिएको वर्गीय समस्यालाई हेर्ने कोसिस गर्दै छु । गोर्खाल्यान्ड आन्दोलन त्यसैको एक दृष्टान्त हो, जसले ‘गोर्खा’, ‘गोरखाली’ वा ‘नेपाली भाषा’ को आधारमा प्रदेशको माग गरिरहेको छ । केन्द्रको भाजपा सरकार हिन्दी भाषालाई सीबीएसई स्कुलमा अनिवार्य गर्न लागिपरेसँगै पश्चिम बंगालको तृणमूल सरकार बंगला भाषालाई स्कुलको अध्यापनको अनिवार्य भाषाका रूपमा थोपर्न उद्यत छ । पश्चिम बंगालमा बंगला र अंग्रेजीसाथै नेपाली, उर्दू, गुरुमुखी, अलचिकी (सन्थाली), उडिया, हिन्दी र कुरुखर राजवंशी/कामतापुरी भाषा पनि स्कुल–कलेज र प्रशासनको आधिकारिक भाषाका रूपमा प्रयोग हुँदै आएका छन् । तर त्रिभाषा सूत्रको लोकतान्त्रिक अभ्यासबाट पछि हट्ने क्रममा बंगलालाई आ–आफ्ना मातृभाषासँगै दोस्रो अनिवार्य रूपमा पढ्नुपर्ने भाषा बनाइने घोषणा हुनासाथ नेपाली भाषी गोर्खाहरूले प्रतिरोधको थालनी गरेका हुन् ।
शिक्षा, प्रशासन, अदालत, मिडिया र राजनीतिमा बंगला भाषाकै प्रभुत्व विस्तार हुने तथा आफ्नो हक–अधिकार, प्रतिनिधित्व र हैसियत कम हुने र भएको पनि गुम्ने त्रास नेपालीभाषीमा फैलिएको छ । त्यही त्रास भाषिक अधिकार, जनजीविकाको हक र लोकतान्त्रिक मूल्य–मान्यतासँग जोडिएर गोर्खाल्यान्डको प्राप्तिको आसमा ‘रिभर्स’ भएको छ । यही त्रास र आसको मनोविज्ञान चिया बगानदेखि चौरस्तासम्ममा दमनकारी शक्तिसँग प्रतिरोधसम्म विस्तार भएको छ । यस अर्थमा गोर्खाल्यान्ड वा कुनै प्रादेशिक स्वायत्तताको माग वर्गीय मुक्ति र लोकतान्त्रिक आन्दोलनको एक अध्याय हो । र, यो देशको सार्वभौमिकता र अखण्डता बचाइराख्ने तथा राज्यको पुन:संरचनाबाट त्यसलाई टेको दिने अभियान हो ।

श्रमशील हातमा भाषाको शास्त्र र शस्त्र
‘भाषा, संस्कृति र राष्ट्रिय अस्मिता’ का केन्याली लेखक न्गुगी वा थ्योंगोका अनुसार भाषा सम्प्रेषणको माध्यम मात्रै होइन, संस्कृतिको बाहक पनि हो । तर सम्प्रेषण र संस्कृतिको भाषा अलग–अलग हुँदा, बोलीचाली, खेतखलिहान र स्कुलको भाषा भिन्नाभिन्नै हुँदा वा ती फरक–फरक भाषाबीच लोकतान्त्रिक संवाद नहुँदा विखण्डन पैदा हुन्छ । ८८० वटा भाषा बोलिने भारतमा स्कुलमा त्रिभाषा सूत्र र प्रशासनिक कामकाजमा चाहिँ ३१ वटा भाषालाई आधिकारिक भाषाको मान्यता दिइए तापनि व्यवहारमा विखण्डन र द्वन्द्वका अनेक आयाम देखिँदै आएका छन् । गोर्खा वा गोर्खाली वा नेपाली भाषाको नाममा जारी द्वन्द्वमा पनि भाषा, जाति र संस्कृतिको अधिकारको छाया मात्रै देखिँदैन, ती भाषा, जाति र संस्कृतिका बाहक जनताका वर्गीय र लोकतान्त्रिक संघर्षको छाप पनि देखिन्छ ।
कुनै पनि क्षेत्रका जनताको संघर्षमा अनेक त्रास र आसका आयाम हुन्छन् । भारतीय नेपालीहरूको प्रतिरोधको नेपथ्यमा पनि ‘पराया’ बाट शासित हुनुपर्ने त्रास छँदै छ, आफैं आफ्नो शासक हुने आस पनि छ । दुई सय वर्षदेखि ब्रिटिस भारत र स्वतन्त्र भारतमा परायाबाट शासित र उत्पीडित भएपछि भाषालाई शस्त्रको रूपमा उचालेका छन्, हो प्रतिरोधको सांस्कृतिक शस्त्रका रूपमा । पाकिस्तानी राजनीतिशास्त्री इकबाल अहमदका अनुसार शासित र उत्पीडित भएपछि, बहिष्करण र सीमान्तीकरण भएपछि मानिसले आफ्नोसामु जे–जस्ता शस्त्र–अस्त्र छ, त्यही उठाउँछन् । भाषा भनेको पनि शास्त्र र शस्त्र दुवै हो, शासकको हातमा भए उत्पीडनको, शासितको हातमा भए प्रतिरोधको ! दुई सय वर्षको उत्पीडनको प्रतिरोधका लागि भारतीय नेपालीहरूले पनि भाषिक शास्त्र र शस्त्र उठाएको इतिहास र वर्तमान छ । लामो समयसम्म पसिना चुहाउने श्रमशील हातमा मात्रै सीमित पारिएका भरिया, मजदुर र सिपाहीहरूको जिब्रो पनि चल्न थालेको छ । दार्जिलिङलगायत पूर्वी भारतका ज्ञाता जयिता शर्माले भनेझैँ अधीनस्थ बनाइएका शरीर (सबाल्टर्न बडी) का हातदेखि जिब्रोसम्म चल्ने क्रमको आफ्नै पीडादायी संघर्षको इतिहास छ, जसमा खस–नेपाली भाषाको विशिष्ट पहिचान कुँदिएको छ ।

‘चिया बगानमा रुपैयाँ फल्छ !’
मान्छेको जस्तै ठाउँको पहिचान पनि फेरिँदो छ । कुनै जमानामा स्थानीय भाषामा ‘दोर्जे–लिङ’ (वज्र–भूमि) थियो, लगभग दुई सय वर्षदेखि अंग्रेजीकरण हुँदा ‘दार्जिलिङ’ भएको छ र आज दार्जिलिङसहित नेपालीभाषीको बाहुल्य रहेका ठाउँलाई ‘गोर्खाल्यान्ड’ बनाउनुपर्ने माग चर्काे छ । यी नाममै झल्किन्छन् स्थान–नाम र भाषाभित्रको राजनीति र राजनीतिभित्रको भाषाको खेल । इतिहासमा दार्जिलिङ ब्रिटिस प्रशासकहरू क्याप्टेन जर्ज लायड र जेडब्ल्यु ग्रायन्टले कोलम्बस शैलीमा ‘पत्ता’ लगाएको ठाउँ होइन । इतिहासकार कुमार प्रधानका अनुसार, जमानादेखि लाप्चे, लिम्बु र मगरहरूको पातलो बसोबास रहेको दोर्जेलिङलाई दार्जिलिङमा रूपान्तरण गर्दैमा त्यसको इतिहास फेरिँदैन । सन् १७८९ देखि १८१५ सम्म गोर्खा साम्राज्यको अधीनमा रहेको दोर्जेलिङसँग नेपाल, भुटान र सिक्किमको जटिल ऐतिहासिक सम्बन्ध छ । पहिले मूलत: सिक्किमअन्तर्गत रहेको दोर्जेलिङलाई लिजमा लिएर सन् १८३५ मा ब्रिटिस साम्राज्यले जर्ज लायडका उत्तराधिकारी डा. क्याम्पबेल (किमिल साहेब) को अगुवाइमा ‘दार्जिलिङ’ मा फेरेको थियो, जसले काठमाडौं बसाइकै बेला खस–नेपाली भाषा बोल्न सिकेका थिए । गर्मी र आद्र्रताबाट बच्दै आनन्ददायी जीवनका लागि स्यानिटोरियम बनाउन, गर्मीमा प्रशासन केन्द्र कोलकाताको नजिकैको ठाउँबाट प्रशासन चलाउन तथा चिया बगान विस्तार गर्न होचा पहाड भएको बस्तीका रूपमा दार्जिलिङको ‘खोज’ गरिएको थियो । त्यसका लागि आवश्यक श्रमशक्ति आपूर्ति गर्ने ब्रिटिस नीति र डा. क्याम्पबेलको प्रोत्साहनअनुसार बसाइँ–सराइ र श्रम–सराइ गरेर गएका नेपालीहरूका कारण त्यहाँ व्यापक जनसांख्यिक परिवर्तन देखिएको थियो ।
मानवशास्त्री टीबी सुब्बाका अनुसार नेपालबाहिर नेपालीहरूको बसाइँ–सराइमा ‘पुस एन्ड पुल फ्याक्टर’ (घचेट्ने र तान्ने कारकतत्त्व) बारे अध्ययन गर्नुपर्ने देखिन्छ । लामो समयदेखि पश्चिमबाट पूर्वतिर बसाइँ–सराइको प्रवृत्ति रहेको नेपालमा शाह र राणा शासनकालमा यो झन् तीव्र भएको थियो । महेशचन्द्र रेग्मी र योगेश राजले लेखेझैँ गोर्खा साम्राज्य विस्तारमा गोला–बारुद बन्नु र बोक्नुपर्ने बाध्यता, युद्धका लागि स्रोत–साधन जुटाउनुपर्ने र घरखेतै गुमाउनुपर्ने बाध्यताबीच बसाइँ–सराइ व्यापक भएको थियो । माइकल हटका अनुसार सन् १८४६ मा कोतपर्वको नाममा हिंसात्मक संघर्षपछि सत्तामा आएको राणा शासनमा दास र भूमिहीन बन्नुपर्ने, करको भार अत्यधिक बोक्नुपर्ने, लोभी सुदखोरबाट सोसिनुपर्ने तथा सरकारी अधिकारीको प्रताडना सहनुपर्ने बाध्यताबीच नेपालीहरू मुग्लान भासिने गरेका थिए । विडम्बना, कुमार प्रधानका शब्दमा, नेपालमा रहेको सामन्ती प्रथाको अत्याचारबाट उम्केर मुग्लान पस्नेहरू कुनै रामराज्यमा पुगेनन् । सामन्ती व्यवस्थाको शोषणबाट उनीहरू ब्रिटिस भारतको औपनिवेशिक शासनको घानमा परे ।
‘चिया बगानमा रुपैयाँ फल्छ’ भन्ने प्रचारबाजीबाट तानिएका हजारौँहजार नेपालीले दार्जिलिङ र पूर्वी भारतमा नगरेको काम कमै होला । घना वनजंगल फाँडेर चियाबगान बनाउनेदेखि लिएर त्यहीँ अनेक खालका मजदुरी गरे । कुल्ली, भरिया, सिपाही, पाले, घरेलु नोकर, स्विपर, कुकजस्ता यावत् पेसा अँगालेर जीविका चलाए । कृतिका अग्रवालका अनुसार डेढ सय वर्षसम्म उनीहरूको जीवन बँधुवा मजदुरहरूको कन्तबिजोगभन्दा भिन्न थिएन । ‘कुल्लिज अफ क्यापिटालिज्म’ का लेखक नीतिन बर्माका अनुसार यहाँको अलिखित कानुनअनुसार एकपटकको चिया बगान कुल्ली : सधैँका लागि चिया बगान कुल्ली हुने नियति प्रचलित थियो । प्रधानका शब्दमा श्रम बेचेर जीविकोपार्जन गर्ने नेपालीहरू अर्थनीतिक शोषणका सिकार थिए । उनीहरूको हैसियत भनेको साम्राज्य र चिया बगान चलाउने ब्रिटिस साहेब, ब्रिटिस र भारतको प्रशासन चलाउने बंगालीबाबु, अर्थतन्त्र चलाउने मारवाडी महाजन तथा खुद्रा व्यापार चलाउने विहारी एवं राजस्थानी साहुको नजरमा कुल्ली वा भरिया वा कामदारको भन्दा माथि थिएन ।

अपमान र उत्पीडनको अभिव्यक्ति
प्रधानले भनेझैं राज्य, प्रशासन, उद्योग, व्यापार र सम्पत्तिमा कुनै हक नहुनु एवं हरेक हिसाबले शोषित–पीडित बन्नुकै परिणामस्वरूप नेपालीहरूमा ‘हामी’ भन्दा ‘उनीहरू’ भिन्दै भन्ने भावना बढ्नु अस्वाभाविक थिएन । आर्थिक मात्र होइन, सामाजिक दृष्टिले पनि ‘हामी’ हेय भएको लाग्नुका आफ्नै कारण थिए । अधिकांश मतवाली जनजातिले बनेको नेपाली समाजलाई ‘म्लेच्छ’ भएकाले हेय ठान्ने गरेको पाइन्छ । श्रमजीवी शासित नेपाली र शासक–प्रशासक अन्यबीच ‘तिनीहरू’ बनाम ‘हामी’ को तीव्र चेतनाको स्रोत उजागर भएको पाइन्छ । यही चेतनाको आधारमा ‘उनीहरू’ को शोषण–उत्पीडनको प्रतिरोधका लागि जातीय वा राष्ट्रिय भावना जागेको प्रधानको विश्लेषण छ । यसलाई खस–नेपाली भाषाका आधारमा जन्मिएको भारतीय नेपाली राष्ट्रवाद भन्न सकिन्छ । बीसौँ शताब्दीमा भारतमा हिन्दी र हिन्दुसँगै बंगला वा अन्य भाषा–धर्म र समुदायका आधारमा राष्ट्रवाद प्रबल हुँदै आएको ऐतिहासिक परिघटनाबीच भारतीय नेपाली राष्ट्रवाद पनि हुर्किएको देखिन्छ ।
एकातिर बाँच्न र कमाउन जीवन–मरणको संघर्ष गर्नुपर्ने’ शासकदेखि साहु–महाजनको शोषण–उत्पीडनको अत्यधिक मार खप्नु नै पर्ने, त्यसमा पनि कुल्ली, भरियाका रूपमा हेलाँहोचो, अपमान र विभेद पनि सहनुपर्ने, घनाजंगल, कुकुर, पाले र सिपाहीको डरका कारण भाग्नसमेत नसकिने अनि उत्पीडन–अपमानविरुद्ध संघर्ष गर्ने कुनै आमूल परिवर्तनकारी विचार र संगठन पनि नहुने ! यस्तो दुरवस्थामा आफूहरू ‘नेपाली’ भएको, त्यही ‘नेपाली’ पहिचानमा आत्मसम्मानको खोजी गरेको र त्यसको अस्त्रको रूपमा ‘नेपाली भाषा’ लाई प्रयोग गरेको इतिहास पनि सय वर्षमा टेक्न लागिसक्यो । दार्जिलिङमा निर्माण गरिएको गोर्खा वा गोरखाली वा नेपाली पहिचानबारे कुमार प्रधानदेखि प्रत्यूष वन्त, रोड्रिक चाल्मर्स, टीबी सुब्बा र हर्षमान महर्जनहरूका गहन अध्ययन उल्लेखनीय छन् ।

बंगला राष्ट्रवाद भर्सेस नेपाली राष्ट्रवाद
भारतीय नेपालीहरूमा शोषित वर्गको समूह–चेतना र सामूहिक श्रम–संघर्षको जगमा नेपाली भाषाको टेको लिएर नेपाली जातिको एकत्वको भावना लहराएको हो । प्रधानकै शब्दमा, दार्जिलिङका नेपालीहरूमा एकत्वको चेतना बढ्नुको कारण नेपालमा जस्तो राष्ट्रिय एकता थिएन, जुन चेतना नेपालीभित्रकै वर्गीय स्वार्थले उकासेन । बरु यही चेतना दार्जिलिङमा शोषित र शासित वर्गको समूह–चेतनाको आडमा बढेको थियो । यहाँ बस्ने नेपालीहरू प्राय: सबै सर्वहारा वर्गका थिए, प्राय: सबै नै श्रमजीवी थिए । नेपाली समुदायभित्र एक वर्गमाथि अर्काे वर्गको अत्याचार र शोषण थिएन, बसाइँ–सराइका कारण जातपातको भेदभाव पनि थिएन । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धतिर निम्न मध्यम वर्ग पलाउन थालेको समुदायभित्र शासक र शासित थिएनन्, सबै सदस्य अरूद्वारा शासित थिए । सबै शोषित–पीडित शासित श्रमजीवी रहेको अवस्थामा ‘उनीहरू’ विरुद्ध ‘हामी’ को भावना जन्मिएको हो । यसकै विस्तारको क्रममा आफूभित्र भाषिक, सामाजिक, सांस्कृति विविधता बोकेको नेपाली समुदायमा एकत्व र जातीयताको भावना प्रखर एवं सशक्त भएको हो । त्यहाँका नेपाली जनसंख्यामा भोट बर्मेली परिवारका आफ्नै बोली बोल्ने समुदाय बेसी थिए, जसलाई मतवाली भनिन्थ्यो । पुराना लाप्चे (लेप्चा) र भुटियासँगै मूलत: राई, तामाङ, लिम्बु, मगर, गुरुङ, नेवारजस्ता मतवाली नेपालीको जनसंख्या अत्यधिक थियो । उनीहरूसँगै केही मात्रामा थिए दमाई, कामी, सार्कीजस्ता कथित सानो जातका नेपाली र बाहुन–क्षत्रीजस्ता कथित ठूला जात भनिने तागाधारी नेपाली पनि । मुग्लान बसाइँ सरेर आउँदा न अलगथलग बस्न सकियो, न त मातृभाषाको आधारमा मात्रै कार्यव्यापार गर्न सम्भव भयो । बसाइँ, बगान, बजार जहाँ गए पनि छ्यासमिस भएर रहेका ती सबै श्रमजीवी नेपालीले दोस्रो भाषाका रूपमा खस–नेपाली बोल्न सिके । मजदुरी गर्ने जनताले आ–आफ्ना मातृभाषा भुलेर पनि कार्यव्यापार गर्ने, विचार विनिमय गर्ने तथा भाव–भावना पोख्ने माध्यमका रूपमा यही भाषा प्रयोग गरेकाले भारतभित्र ‘नेपाली जाति’ (नेसन) को निर्माण सम्भव भयो ।
बसाइँ–सराइ र श्रम–सराइका कारण विभिन्न जनजातिका भाषालाई मास्दै खस–नेपाली भाषा दार्जिलिङको बहुभाषी समाजमा साझा भाषा (लिङ्गुवा फ्रान्का) सँगै गोर्खा वा नेपालीहरूको विशिष्ट पहिचानको प्रतीक बनेको हो । नेपाली भाषा–साहित्यका इतिहासकार माइकल हटका अनुसार पहिले खस, पहाडिया, पर्वतिया भाषा भनिने यस भाषालाई ‘नेपाली’ नामकरण नै ब्रिटिस विद्वान्हरूले गरेको र त्यसलाई ब्रिटिस साम्राज्यले विभिन्न भाषाभाषी भएको गोर्खा फौजसँग व्यापक रूपमा प्रयोग गरेको कारणले पनि नेपाली बहुप्रचारित भएको थियो । त्यसमाथि उन्नाइसौं शताब्दीदेखि नै मिडिया र प्रकाशनको व्यापक प्रयोगमार्फत नेपाली भाषा र साहित्यको प्रचारसँगै नेपाली जातीय एकताको भावना फैलाउने अभियानमा बनारस, देहरादून र दार्जिलिङका नेपाली पहिचानवादी वा राष्ट्रवादीहरू कम्मर कसेर लागेका थिए ।
बेनेडिक्ट एन्डर्सनले भनेझैं ‘मुद्रण पुँजीवाद’ (प्रिन्ट क्यापिटलिज्म) को वृद्धिसँगै भाषा, साहित्य, प्रकाशन र व्यापारमार्फत भाषिक र जातीय चेतनाका रूपमा ‘काल्पनिक समुदाय’ (इम्याजिन्ड कम्युनिटी) निर्माण हुन्छ । कुमार प्रधानदेखि स्वत:सिद्ध सरकारसम्मको मतमा नेपाली भाषाको आधारमा विविध नश्ल, वंश, भाषा, धर्म र संस्कृतिका मानिसलाई एउटै सूत्रमा बाँध्नका लागि कल्पना गरिएको समुदाय नै नेपाली पहिचान हो अर्थात् नेपाली राष्ट्रवाद हो । बसाइँ–सराइ र श्रम–सराइमा गएका, नयाँ देशका बासिन्दा र नागरिक भइसकेका नेपालीका लागि नेपाली राष्ट्रवाद उपयोगी शास्त्र र शस्त्र भएको छ । त्यही राष्ट्रवादी शास्त्र र शस्त्रको आधारमा आफूलाई गोर्खा वा गोरखाली वा नेपाली पहिचानमा प्रस्तुत गर्न चाहने भारतीय नेपालीहरू संघर्षरत छन् । सम्मानजनक समृद्ध जीवनका लागि उनीहरू नेपाली राष्ट्रवादको शस्त्र र शास्त्र बोकेर त्यस्तो बंगला राष्ट्रवादविरुद्ध जुध्दै आएका छन्, जुन हिन्दु–हिन्दी राष्ट्रवादजस्तै राज्यबाट पालनपोषणका कारण आक्रामक हुँदै छ । गोर्खाल्यान्डका रूपमा प्रकट भएको नेपाली राष्ट्रवाद भारतबाट नयाँ देश निर्माण गर्न वा नेपालसँग एकीकृत हुनका लागि होइन, बरु स्वदेशभित्रै भिन्न प्रदेशका लागि हो । वास्तवमा वर्गीय मुक्तिका लागि अलिक सहज हुनेगरी शोषित–पीडित गोर्खाहरूले भाषिक आधारमा खोजेको स्वराज हो । त्यसकै सशक्त अभिव्यक्ति हो, प्रदीप लोहागुणको कविता :
अब भोजनको सपना देख्न छोड
भोकको सपना देख्न थाल ।
जस्तो कि तिमीलाई
युगौँदेखि लागेको छ
मान्छे भएर बाँच्ने भोक । 

Source : Ekantipur

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com