दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार
दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दार्चुला दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गर्नुभएको छ ।
गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पु-याइएको छ । गम्भीर घाइतेलाई थप उपचारमा लैजानुपर्ने भएमा र हेलिकप्टर चाहिए मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भन्नुभएको छ ।






